अर्जुन लिम्बू, लेटाङ । वैदेशिक रोजगारीका लागि कतार पुगेर चार वर्ष बिताएका गणेश मगर अहिले आफ्नै गाउँमा एग्रोभेट व्यवसाय सञ्चालन गर्दै सफलताको यात्रामा अघि बढिरहेका छन्। विदेशमा श्रम गरेर फर्किएपछि गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सुरु गरेका मगरले हाल पशुपालक किसानलाई आवश्यक दाना, औषधि तथा प्राविधिक सेवा उपलब्ध गराउँदै आएका छन्।
केराबारी गाउँपालिका–५, सतिसालेका मगरको व्यावसायिक यात्रा भने सहज थिएन। उनले जीवनमा विभिन्न क्षेत्रमा प्रयास गरे पनि अपेक्षित सफलता हासिल गर्न सकेनन्। सुरुमा नेटवर्क मार्केटिङमा काम गरेका उनी त्यसबाट सफल हुन नसकेपछि धरानमा किराना पसल सञ्चालन गर्न पुगे। किराना पसलमा पनि विभिन्न समस्या आएपछि २०७० सालमा उनी वैदेशिक रोजगारीका लागि कतार हानिए।
कतारमा करिब चार वर्ष काम गरेपछि नेपाल फर्किएका मगरले केही समय काठमाडौंमा बिताए। तर, कोरोना महामारीका कारण लागू भएको लकडाउनले उनको सोचमा परिवर्तन ल्यायो। गाउँमै बसेर पनि जीविकोपार्जन गर्न सकिने महसुस भएपछि उनी पुनः आफ्नै गाउँ फर्किए।
नेपाल फर्किएपछि आर्थिक अवस्था कमजोर भएका कारण केही समय उनी परिवारको आर्थिक सहयोगमा निर्भर हुनुपर्ने अवस्थामा थिए। त्यसपछि कोरियामा रहेकी बहिनीसँग सल्लाह गरेर उनले बङ्गुर पालन व्यवसाय सुरु गरे। बहिनीले लगानी गर्ने र आफूले व्यवसाय सञ्चालन गर्ने सहमतिमा सुरु गरिएको बङ्गुर पालनबाट राम्रो आम्दानी गर्ने उनको योजना थियो।
तर, बङ्गुर पालन सुरु गरेपछि उनले नयाँ चुनौती सामना गर्नुपर्यो। बङ्गुर बिरामी पर्दा समयमा प्राविधिक सेवा नपाउने र सामान्य स्वास्थ्य समस्यासमेत आफैंले समाधान गर्न नसक्ने भएपछि मगरको पशु उपचार तथा प्राविधिक क्षेत्रमा रुचि बढ्न थाल्यो। आफ्नै व्यवसायमा देखिएको समस्याले उनलाई पशु स्वास्थ्यसम्बन्धी ज्ञान हासिल गर्न प्रेरित गर्यो।
उनले विभिन्न ठाउँमा छोटो अवधिका तालिम खोजे। तर, आफूले खोजेजस्तो तालिम नपाएपछि इटहरीस्थित बङ्गलामुखी मल्टि इन्स्टिच्युटमा १८ महिने डिप्लोमा अध्ययन गर्ने निर्णय गरे। त्यसका लागि उनले करिब १ लाख ५० हजार रुपैयाँ खर्च गरे। गाउँबाट इटहरीसम्म नियमित आवतजावत गर्दै उनले अध्ययन पूरा गरे।
अध्ययनकै क्रममा उनले पशु उपचार तथा प्राविधिक सेवा दिन थालेका उनले सुरुमा सीमित किसानबाट प्राप्त काम विस्तारै बढ्दै गयो। गाउँघरमा पशु उपचारसम्बन्धी सेवा सहज रूपमा उपलब्ध नहुने भएकाले मगरको काम किसानमाझ बिस्तारै परिचित हुन थाल्यो।
यस क्रममा साना किसान कृषि सहकारी संस्थाका प्राविधिक सिर्जना याम्फुले उनलाई महत्वपूर्ण सहयोग गरेको उनी बताउछन्। याम्फुले आफ्नो कार्यक्षेत्रमा आएका केही जिम्मेवारीहरू मगरलाई जिम्मा दिने गरेपछि उनको व्यावहारिक अनुभव बढ्दै गयो। किसानसँग प्रत्यक्ष सम्पर्क बढेसँगै उनले पशुपालनका समस्या, किसानका आवश्यकता र बजारको मागबारे पनि बुझ्ने अवसर पाए।
पशु उपचारसम्बन्धी काम विस्तार हुँदै गएपछि मगरले व्यवसायलाई थप व्यवस्थित बनाउने योजना बनाए। यही क्रममा ग्रामीण विकास संस्था उत्तरी मोरङ (हडन) ले सञ्चालन गरेको तालिममा सहभागी हुने अवसर पाए। तालिमका क्रममा व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध हुने जानकारी पाएपछि उनले व्यावसायिक योजना तयार गरी एग्रोभेट सञ्चालन गर्ने निर्णय गरे।
हडनबाट सहुलियत ब्याजदरमा दुई लाख रुपैयाँ कर्जा पाएपछि मगरले एग्रोभेट व्यवसाय सुरु गरे। व्यवसाय सुरु गर्दा आफ्नै पूँजी निकै कम थियो। प्राप्त रकममध्ये करिब ६०–८० हजार रुपैयाँ फ्रिज, तराजु, र्याक, सोकेसलगायत आवश्यक सामग्री व्यवस्थापनमा खर्च भयो। बाँकी रकमबाट उनले पशु आहार तथा अन्य सामग्री खरिद गर्दै व्यवसाय विस्तार गरे।
सुरुमा सीमित सामग्रीबाट सञ्चालन गरिएको एग्रोभेट अहिले स्थानीय किसानका लागि आवश्यक सेवा केन्द्र बन्दै गएको छ। हाल उनको एग्रोभेटमा सामान्य अवस्थामा दैनिक करिब १० बोरा र राम्रो कारोबार भएका दिनमा १५ देखि २० बोरासम्म दाना बिक्री हुने गरेको छ। दानासँगै चोकर, भुसलगायत पशुपालनमा आवश्यक सामग्रीसमेत उनले बिक्री गर्दै आएका छन्।
मगरका अनुसार व्यवसाय विस्तार हुनुको मुख्य कारण ग्राहकको आवश्यकता बुझेर सेवा प्रदान गर्नु हो। ग्रामीण क्षेत्रमा पशुपालक किसानको संख्या बढ्दै गए पनि आवश्यक सामग्रीका लागि उनीहरू अझै टाढाको बजारमा निर्भर हुनुपर्ने अवस्था छ। यही समस्या समाधान गर्न उनले स्थानीयस्तरमै गुणस्तरीय सामग्री उपलब्ध गराउने प्रयास गरेका छन्।
पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि ग्राहकहरू सहज र घरमै उपलब्ध हुने सेवाप्रति आकर्षित भइरहेका छन्। त्यसलाई ध्यानमा राख्दै मगरले ग्राहकले माग गरेका दाना तथा अन्य सामग्री घरमै पुर्याउने व्यवस्था गरेका छन्। एक–दुई बोरा मात्र सामान आवश्यक पर्ने ग्राहकलाई समेत उनले स्कुटर वा मोटरसाइकलमार्फत घरमै डेलिभरी दिने गरेका छन्।
“दुई पैसा बढी परे पनि घरमै सामान आइदिए हुन्थ्यो भन्ने ग्राहकको चाहना बुझेर मैले घरदैलो डेलिभरी सुरु गरेको हुँ,” मगर भन्छन्।
उनका अनुसार ग्राहकलाई सुविधा दिन सके व्यवसायप्रतिको विश्वास बढ्छ। किसानले समयमै दाना, औषधि वा आवश्यक सामग्री पाउन सके पशुपालनमा हुने जोखिम पनि कम गर्न सकिन्छ। त्यसैले उनी बिक्रीसँगै किसानलाई आवश्यक परामर्श र प्राविधिक सहयोगसमेत प्रदान गर्ने प्रयास गर्छन्।
२०८० सालतिर सुरु भएको उनको एग्रोभेट व्यवसाय अहिले तेस्रो वर्षमा प्रवेश गरिसकेको छ। व्यवसाय सुरु गर्दा चुनौती धेरै भए पनि निरन्तरता, प्राविधिक ज्ञान र ग्राहकसँगको राम्रो सम्बन्धका कारण अहिले उनी आफ्नो कामप्रति सन्तुष्ट छन्।
मगरको व्यवसायले उनलाई मात्र रोजगारी दिएको छैन, गाउँका पशुपालक किसानलाई पनि स्थानीयस्तरमै सेवा प्राप्त गर्ने अवसर दिएको छ। पशु उपचार, पशु आहार र आवश्यक सामग्री एउटै ठाउँबाट उपलब्ध हुन थालेपछि किसानको समय र खर्च दुवै बचत भएको छ।
वैदेशिक रोजगारी, व्यापारिक असफलता र आर्थिक अभावका विभिन्न चरण पार गर्दै गाउँमै व्यवसाय निर्माण गरेका मगर अहिले पशुपालनसँग सम्बन्धित सेवा र सामग्री एउटै ठाउँबाट उपलब्ध गराउने प्रयासमा छन्। विदेशमा कमाएको अनुभव र गाउँमा भोगेका समस्यालाई उनले आफ्नै व्यवसायको आधार बनाएका छन्।
उनको अनुभवले गाउँमै अवसर खोज्ने हो भने सानो पूँजी, प्राविधिक ज्ञान र ग्राहकको आवश्यकता बुझेर पनि व्यवसाय विस्तार गर्न सकिने देखाएको छ। मगरका लागि विदेश जाने विकल्पबाट सुरु भएको यात्रा अन्ततः आफ्नै गाउँमा व्यवसाय र रोजगारी सिर्जना गर्ने यात्रामा परिणत भएको छ।











