क्वालालम्पुर — नेपाली गीत–संगीत, कला तथा संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले मलेसियामा ‘५औँ सिल्भर इन्टरनेसनल म्युजिक अवार्ड–२०२६’ तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
प्रियसी म्युजिक प्रालिको प्रस्तुति तथा व्यवस्थापनमा आयोजना हुन लागेको कार्यक्रम आगामी सेप्टेम्बर ६, २०२६ आइतबार दिउँसो २ बजे क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा हुने आयोजकले जनाएको छ।
विदेशमा रहेर नेपाली कला, संगीत तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याइरहेका कलाकार तथा स्रष्टालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक तथा प्रियसी म्युजिक प्रालिका अध्यक्ष राजेन्द्र पुरी र व्यवस्थापक बबिता श्रेष्ठले जानकारी दिएका छन्।
कार्यक्रममा नेपाल तथा मलेसियामा सक्रिय विभिन्न कलाकारहरूको विशेष सहभागिता रहनेछ। वरिष्ठ कलाकार हिङ्सबाला गौतम, गीता नेपाल र रश्मि पाण्डे, गायक अमृत खाती, धर्मराज न्यौपाने, रूपक परियार, अर्जुन खरेल र नवीन परियार, गायिका स्मृति गौतम, सीमा थापा र कल्पना बली, कलाकार चक्रघोज भण्डारी, निर्देशक तथा मोडल अन्जान शर्मा, मोडल तथा गायिका प्रनिता तामाङ, मलेसियाका कलाकार तथा आयोजक डेभिड घिमिरे तथा गायक तथा मोडल अपुरण गौतमलगायतको सहभागिता रहने आयोजकले जनाएको छ।
त्यस्तै, कार्यक्रममा पुरन राजकोटी मगर उद्घोषकका रूपमा रहनेछन् भने वरिष्ठ पत्रकार ऋषि थापलिया प्रस्तोताका रूपमा सहभागी हुने भएका छन्।
कार्यक्रमको अध्यक्षता बबिता श्रेष्ठ पुरीले गर्ने तथा व्यवस्थापनको जिम्मेवारी राजेन्द्र पुरीले सम्हाल्ने आयोजकले जनाएको छ।
कार्यक्रमलाई नेपाल एयरलाइन्स, मलेसियामा परिचित RTF फुटबल क्लब, क्लाङ सहरस्थित एनबी रमाइलो मार्ट, जनसम्पर्क समिति मलेसिया, नेप्स्या तथा लाङ्गाली चुलोलगायतका विभिन्न संघसंस्था तथा व्यवसायिक प्रतिष्ठानले सहयोग गर्ने भएका छन्। ट्राभल पार्टनर तथा विभिन्न सञ्चारमाध्यमको समेत सहकार्य रहने आयोजकले जनाएको छ।
कार्यक्रमका लागि ‘संदेश प्रवाह डटकम, लगायतका सञ्चार तथा मिडिया संस्थाहरू मिडिया पार्टनरका रूपमा जोडिएका छन्।
आयोजक प्रियसी म्युजिक प्रालिका अनुसार मलेसियामा नेपाली कला, संगीत र संस्कृतिको प्रवर्द्धनसँगै कलाकार तथा स्रष्टाहरूलाई सम्मान, प्रोत्साहन र उनीहरूको योगदानलाई थप उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
सेप्टेम्बर ६ गते दिउँसो २ बजे होटल ग्राण्ड कन्टिनेन्टल, क्वालालम्पुरमा आयोजना हुने कार्यक्रम सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। आयोजकले मलेसियामा रहेका नेपाली समुदाय, कलाकार, संगीतप्रेमी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई नेपाली कला–संस्कृतिको उत्सवमा सहभागी हुन आग्रह गरेको छ।











