
काठमाडौं – नेता प्रभु शाह अन्ततः माओवादी केन्द्रमै फर्किने भएका छन् । नेकपा (एमाले)को विधान महाधिवेशनमा अनुपस्थित भएका शाह माओवादीमा फर्किने भएका हुन् । उनले माओवादी केन्द्रका नेताहरुसँग फर्किनको लागि छलफल पनि अगाडि बढाएको समाचार संसर न्युजले लेखेको छ ।
शाहसँगै एमालेमा गएका २१ प्रदेश कमिटी सदस्यले यसअघि नै एमालेबाट सामूहिक राजीनामा दिएका थिए । उनी निकटका प्रदेश २ मा देखिएका अधिकांश नेताहरु अहिले निष्क्रिय अवस्थामा छन् ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि केहि नेताहरु माओवादी केन्द्रमा फर्किन लागेको बताएका थिए । बताइएअनुसार अध्यक्ष प्रचण्डले प्रभु शाह र गौरीशंकर चौधरीलाई संकेत गर्दै उक्त कुरा बताएका थिए ।
तत्कालिन नेकपा विभाजनका बेला केपी शर्मा ओली नेतृत्वको समूहका लागेका नेताहरु सर्वोच्चको फैसलापश्चात एमाले र माओवादी ब्यूँतिएपछि पनि माओवादीमा फर्किएका थिएनन् । माओवादी अध्यक्षविरुद्व चर्को विरोध गरेका शाहलगायतका नेताहरु एमालेभित्र देखिएको किचलोसँगै भने माओवादी नजिक देखिँदै आएका थिए ।