लेटाङ । चाडपर्व नजिकिँदै गएसँगै लेटाङ नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। नगरपालिकाले व्यवसाय दर्ता तथा नवीकरण, बिल–बिजक जारी गर्ने अवस्था लगायतका विषयमा नियमित अनुगमनलाई निरन्तरता दिएको हो।
अनुगमनको निरन्तरताअन्तर्गत आज लेटाङ नगरपालिका–४ को मुख्य बजार तथा मुख्य लाइन क्षेत्रमा रहेका खाजा घर तथा होटलमा अनुगमन गरिएको छ। लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाको नेतृत्वमा गएको टोलीले १८ वटा खाजा घर तथा होटलको अनुगमन गरेको हो।
अनुगमन टोलीमा नगरपालिकाको योजना शाखा प्रमुख चेतनाथ गौतम, राजस्व शाखा प्रमुख सुश्मा कोइराला, प्रहरी तथा उद्योग वाणिज्य संघ लेटाङका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा व्यवसाय सञ्चालनका लागि आवश्यक व्यवसाय दर्ता तथा नवीकरण भए–नभएको, ग्राहकलाई बिल–बिजक जारी गर्ने गरिएको छ वा छैन भन्ने विषयमा मुख्य रूपमा जाँच गरिएको थियो। अनुगमन गरिएका अधिकांश व्यवसाय कानुनी प्रक्रियाअनुसार दर्ता भएको पाइएको नगरपालिकाले जनाएको छ। केही व्यवसायमा भने आवश्यक प्रक्रिया तथा कागजातका विषयमा टोलीले जानकारी तथा सुझाव दिएको बताइएको छ।
नगरपालिकाका अनुसार बजार क्षेत्रमा सञ्चालनमा रहेका व्यवसायलाई कानुनी दायरामा ल्याउने, व्यवसाय दर्ता तथा नवीकरणलाई व्यवस्थित बनाउने र कारोबारमा बिल–बिजकको प्रयोगलाई प्रभावकारी बनाउने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइएको हो।
विशेषगरी दशैं, तिहार, छठलगायतका प्रमुख चाडपर्व नजिकिँदै जाँदा बजारमा उपभोक्ताको चहलपहल बढ्ने भएकाले व्यवसायिक गतिविधिलाई व्यवस्थित र पारदर्शी बनाउन नगरपालिकाले अनुगमनलाई प्राथमिकता दिएको छ।
अनुगमनका क्रममा व्यवसायीलाई नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गरी सञ्चालन गर्न, कारोबारको नियमित अभिलेख राख्न तथा ग्राहकलाई अनिवार्य रूपमा बिल–बिजक उपलब्ध गराउनसमेत सचेत गराइएको छ।
नगरपालिकाले आगामी दिनमा पनि बजार क्षेत्रका विभिन्न व्यवसाय तथा प्रतिष्ठानमा अनुगमनलाई निरन्तरता दिने जनाएको छ। चाडपर्वका समयमा बजारमा हुने आर्थिक कारोबार बढ्ने भएकाले उपभोक्ता हित संरक्षण, व्यवसायको वैधानिकता तथा राजस्व संकलनलाई व्यवस्थित बनाउन अनुगमनलाई थप प्रभावकारी बनाइने नगरपालिकाको तयारी छ।
स्थानीय तह, प्रहरी र निजी क्षेत्रका प्रतिनिधिहरूको संयुक्त सहभागितामा भइरहेको अनुगमनले व्यवसायीलाई आफ्नो व्यवसाय कानुनी प्रक्रिया पूरा गरेर सञ्चालन गर्न तथा कारोबारलाई पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।











