विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २७ औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै पत्रकार सम्मान र निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

शनिबार मोरङको पथरीशनिश्चरे–९, रिगुवास्थित सिंहबहिनी माध्यमिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा फोनिजले पुरस्कार वितरण र आँखा शिविर सञ्चालन गरेको हो ।

स्थापना दिवसकै अवसर पारेर फोनिज प्रदेश लेखा समिति संयोजक प्रेम देवानका स्वर्गीय पिता कृष्ण देवानको स्मृतिमा स्थापित ‘कृष्ण देवान स्मृति पुरस्कार’ उज्यालो प्रदेश डटकमका सम्पादक भक्त शेर लिम्बुलाई प्रदान गरियो । फोनिजका प्रदेश संस्थापक इन्चार्ज तथा मोरङका पूर्वअध्यक्ष समेत रहेका लिम्बुलाई नगद ८ हजार रुपैयाँ, कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्बापो र पुरस्कारका संरक्षक प्रेम देवानले लिम्बुलाई उक्त पुरस्कार हस्तान्तरण गरे । गत वर्षदेखि सुरु गरिएको यो पुरस्कार पहिलोपटक फोनिजका संघीय उपाध्यक्ष अर्जुन जम्मेली राईलाई प्रदान गरिएको थियो ।

२५० जनाको आँखा परीक्षण, २५ मा मोतियाबिन्दु
स्थापना दिवसलाई समुदायसँग जोड्ने उद्देश्यले आयोजित निःशुल्क आँखा जाँच शिविरमा २५० जना स्थानीयले सेवा लिएका छन् । परीक्षणका क्रममा २५ जनामा मोतियाबिन्दुको समस्या देखिएको आयोजकले जनाएको छ । मोतियाबिन्दु पहिचान भएका बिरामीहरूको विराटनगरस्थित विराट रानी आँखा अस्पतालमा थप उपचार गरिने बताइएको छ ।

शिविरमा बिरामीहरूलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोग र शिवम मेडिकोको समन्वयमा शिविर सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख मोहनप्रसाद तुम्बापोले राज्यले गर्नुपर्ने स्वास्थ्यसम्बन्धी काम सञ्चारकर्मीहरूको संस्थाले गर्नु प्रशंसनीय भएको बताए । उनले पत्रकारिता सूचना प्रवाहमा मात्र सीमित नभई सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय हुनुपर्नेमा जोड दिए ।

फोनिज मोरङका अध्यक्ष अनिल श्रेष्ठले संस्थाको स्थापना दिवसलाई केवल उत्सवका रूपमा मात्र नमनाई सामाजिक सेवामार्फत समुदायको सेवामा समर्पित गरिएको बताए । उनले स्थापना दिवसलाई समुदायसँग जोड्ने उद्देश्यले निःशुल्क आँखा शिविर आयोजना गरिएको बताए।

सो अवसरमा कार्यक्रमलाई सफल पार्न सहयोग पुर्‍याउने शिवम मेडिकोका सञ्चालक देशबन्धु ढकाल र विराट रानी आँखा अस्पताललाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा फोनिज प्रदेश उपाध्यक्ष अर्जुन राई, नेपाल पत्रकार महासंघ मोरङका सहसचिव रेवती निरौला, नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल र सिंहबहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक उमेश खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज मोरङकी अध्यक्ष सरिता श्रेष्ठ, विराट रानी आँखा अस्पतालका सञ्चालक फिरोज चौधरी, सञ्चार क्लबका निवर्तमान अध्यक्ष कुमार खड्का, पत्रकार महासंघ मोरङका पूर्व उपाध्यक्ष मोहन भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय