लेटाङ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर–९ जातेको बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनतर्फको प्रतिष्ठित गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार–२०८२/०८३ मा प्रथम स्थान हासिल गरेको छ।

नेपाल सरकार, कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा भू–संरक्षण विभागले वन संरक्षण, दिगो व्यवस्थापन, स्थानीय समुदायको जीविकोपार्जन तथा सामुदायिक विकासमा पुर्‍याएको योगदानका आधारमा बसन्त हरियाली सामुदायिक वनलाई राष्ट्रिय पुरस्कार प्रदान गरेको हो।

पुरस्कारसँगै सामुदायिक वन उपभोक्ता समूहलाई नगद १ लाख रुपैयाँ प्रदान गरिएको छ। सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन र स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याएको योगदानको कदरस्वरूप समूहलाई देशभरका सामुदायिक वनमध्ये उत्कृष्ट ठहर गर्दै प्रथम पुरस्कार प्रदान गरिएको हो।

बसन्त हरियाली सामुदायिक वनले वन क्षेत्रको संरक्षणसँगै वन स्रोतको दिगो उपयोग, वातावरण संरक्षण र स्थानीय उपभोक्ताको सहभागितालाई प्राथमिकतामा राख्दै आएको छ। वन संरक्षणमा समुदायको सक्रिय सहभागिता बढाउने, वन पैदावारको व्यवस्थित उपयोग गर्ने तथा स्थानीय आवश्यकतासँग वन व्यवस्थापनलाई जोड्ने कार्यमा समूहले निरन्तर काम गर्दै आएको छ।

सामुदायिक वन व्यवस्थापनमार्फत स्थानीय उपभोक्ताको जीविकोपार्जनमा सहयोग पुर्‍याउनुका साथै वन क्षेत्रको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न समूहले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। वन संरक्षणमा स्थानीय समुदायलाई प्रत्यक्ष सहभागी गराउने अभ्यासले सामुदायिक वन व्यवस्थापनलाई प्रभावकारी बनाउन समेत सहयोग पुगेको छ।

राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेसँगै लेटाङको सामुदायिक वन अभियानले राष्ट्रिय पहिचानसमेत बनाएको छ। पुरस्कारले वन संरक्षणमा सक्रिय उपभोक्ता, पदाधिकारी तथा स्थानीय समुदायलाई थप उत्साहित बनाएको छ।

समुदायको सहभागितामा वन संरक्षण र व्यवस्थापन गर्दै आएको बसन्त हरियाली सामुदायिक वनले प्राप्त गरेको यो सम्मानले लेटाङको वन संरक्षण अभियानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै, पुरस्कारले सामुदायिक वनलाई आगामी दिनमा अझ प्रभावकारी, दिगो र समुदायमुखी ढंगले व्यवस्थापन गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय