केही पसलमा म्याद गुज्रिएका खाद्य सामग्री फेला, दर्ता नभएका व्यवसायीलाई दर्ता गर्न सुझाव

अर्जुन लिम्बु ,लेटाङ । लेटाङ नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिँदै लेटाङ–३ स्थित त्रिशूली चोक र मिलन चोक आसपासका २५ वटा पसलमा अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश पसल व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको पाइएको छ भने केही पसलमा म्याद गुज्रिएका खाद्य सामग्रीसमेत फेला परेका छन्।

लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाको नेतृत्वमा भएको अनुगमनका क्रममा पसलको दर्ता अवस्था, खाद्य सामग्रीको म्याद तथा व्यवसाय सञ्चालनसम्बन्धी आवश्यक मापदण्डको निरीक्षण गरिएको थियो।

अनुगमनका क्रममा अधिकांश व्यवसायीले नगरपालिकामा व्यवसाय दर्ता नगरेको पाइएको छ । दर्ता नभएका व्यवसायीलाई तत्काल कारबाही नगरी सम्झाइबुझाइ गर्दै आवश्यक प्रक्रिया पूरा गरी नगरपालिकामा व्यवसाय दर्ता गर्न सुझाव दिइएको छ।

त्यस्तै, केही पसलमा म्याद सकिएका खाद्य सामग्री फेला परेका थिए। त्यस्ता सामग्री बिक्री नगर्न तथा पसलमा रहेका खाद्य वस्तुको नियमित रूपमा म्याद जाँच गर्न व्यवसायीलाई सचेत गराइएको छ।

अनुगमन टोलीले व्यवसाय दर्ता गरी कानुनी प्रक्रियाअनुसार व्यवसाय सञ्चालन गर्न, खाद्य सामग्रीको गुणस्तर र म्यादमा विशेष ध्यान दिन तथा उपभोक्ताको स्वास्थ्य र अधिकारलाई प्राथमिकतामा राख्न व्यवसायीलाई आग्रह गरेको छ।

अनुगमनमा लेटाङ–३ का वडा अध्यक्ष डम्बरबहादुर राईको समेत सहभागिता रहेको थियो। त्यस्तै, लेटाङ नगरपालिकाको राजस्व शाखा प्रमुख सुश्मा कोइराला, लेटाङ उद्योग वाणिज्य संघका प्रतिनिधि, इलाका प्रहरी कार्यालय लेटाङका प्रतिनिधि, नगर प्रहरी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

नगरपालिकाले बजारमा देखिएका समस्या समाधानका लागि आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने जनाएको छ। व्यवसाय दर्ता, खाद्य सामग्रीको म्याद, मूल्यसूची तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा नियमित निगरानी गरिने नगरपालिकाको भनाइ छ।

पहिलो चरणमा दर्ताविहीन व्यवसायीलाई सम्झाइबुझाइ गरी व्यवसाय दर्ता गर्न सुझाव दिइएको भए पनि आगामी अनुगमनमा समेत नियम पालना नगरेको पाइएमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय