अर्जुन लिम्बू, लेटाङ । माटोको घर, स्थानीय सेरेना मौरी र आफ्नै मेहनत केराबारी–५ पुलाका राजु राईले यही आधारमा परम्परागत मौरीपालनलाई व्यवसायमा बदलिरहेका छन्। पहाडी ग्रामीण विकास संस्था (हर्डन) को तालिम र सहुलियत कर्जाको सहयोग पाएपछि मौरीपालनलाई व्यावसायिक रूपमा विस्तार गरेका राई अहिले स्थानीय स्रोतसाधन प्रयोग गरी कम लागतमा वातावरणमैत्री मौरीपालनको अभ्यास गरिरहेका छन्।
राईको मौरीपालन व्यवसायको नाम ‘याम्फु प्राकृतिक मौरी पालन’ हो। परम्परागत रूपमा एक–दुई घार मौरी पाल्दै आएका उनले मौरीपालनसम्बन्धी तालिम लिएपछि यसलाई व्यावसायिक रूपमा अघि बढाउने सोच बनाएका हुन्।
“पहिलेदेखि नै परम्परागत रूपमा मौरी पाल्दै आएको थिएँ। तालिम लिएपछि मौरीमा केही गर्नुपर्छ भन्ने सोच आयो,” राईले भने, “त्यसपछि सहुलियत कर्जाको सुविधा पाएँ र व्यावसायिक रूपमा मौरीपालन सुरु गरेँ।”
मौरीपालन व्यवसायमा लाग्नुअघि राईले इलामको रोङ गाउँपालिका–२ बर्खल्याङमा एक साताको व्यावहारिक आधारभूत तालिमसमेत लिएका थिए। त्यसपछि हर्डनको दोस्रो ब्याचअन्तर्गतको तालिम पाएपछि मौरीपालनलाई थप व्यवस्थित र व्यावसायिक बनाउने प्रेरणा मिलेको उनले बताए।
हाल राईले स्थानीय सेरेना जातको मौरी पाल्दै आएका छन्। उनको फार्ममा करिब ७० देखि ८० घार मौरी रहेको छ। अहिले मौरीको संख्या विस्तार र बिक्रीमा बढी ध्यान दिइरहेकाले फार्मको पूर्ण उत्पादन क्षमता उपयोग गर्न भने बाँकी रहेको उनी बताउँछन्।
यो सिजनमा करिब ३० कोला मौरी बिक्रीबाट करिब डेढ लाख रुपैयाँ आम्दानी भएको उनले बताए। एउटा फ्रेम करिब एक हजार रुपैयाँका दरले बिक्री हुने गरेको छ। स्थानीय सेरेना मौरीको मह भने अहिले करिब १ हजार ६ सय रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको राईको भनाइ छ।
तर राईको मौरीपालनको विशेषता मौरीको संख्या र मह उत्पादनमा मात्र सीमित छैन। उनले स्थानीय स्रोतसाधन प्रयोग गरेर माटोबाट बनाइएको मौरीघर समेत तयार गरेका छन्।
सिक्किम र दार्जिलिङ क्षेत्रमा माटोका संरचनामा मौरीपालन गरिएको अभ्यासबाट प्रभावित भएर आफूले पनि स्थानीय परिवेशअनुसार माटोको मौरीघर बनाएको राई बताउँछन्।
“कम लागतमा स्थानीय स्रोतसाधन प्रयोग गरेर वातावरणमैत्री रूपमा मौरीपालन गर्न सकिन्छ भन्ने देखाउन पनि यो माटोको घर बनाएको हुँ,” उनले भने।
राईको यो अभ्यासले गाउँका अन्य कृषकलाई समेत आकर्षित गर्न थालेको छ। उनका अनुसार केराबारी गाउँपालिकाका विभिन्न वडामा माटोको मौरीघर बनाउने अभ्यास सुरु भएको छ। यद्यपि, आफू नै पहिलो व्यक्ति भएको दाबी भने उनी गर्दैनन्।
स्थानीय सेरेना मौरी पहाड र तराईको बीचको भूभागमा राम्रोसँग पाल्न सकिने राईको अनुभव छ। अत्यधिक चिसो हिमाली क्षेत्रमा भने यसको पालनमा चुनौती हुन सक्ने उनको भनाइ छ।
मौरी घार छाडेर भाग्ने समस्या भने मौरीपालकका लागि प्रमुख चुनौती रहेको उनी बताउँछन्। प्रतिकूल मौसम, पर्याप्त खाना नपाइनु तथा परजीवी र अन्य शत्रुजीवका कारण मौरी घार छाड्ने गरेको राईको अनुभव छ। घार छाडेका मौरीलाई पुनः नयाँ घारमा सार्ने कामसमेत उनले गर्दै आएका छन्।
मौरीलाई आवश्यक आहार उपलब्ध गराउँदा सकेसम्म स्थानीय स्रोतलाई प्राथमिकता दिने उनको अभ्यास छ। चिनीको प्रयोग सकेसम्म नगर्ने र स्थानीय रूपमा उपलब्ध मह तथा चनाको धुलोजस्ता सामग्री प्रयोग गर्ने गरेको राईले बताए।
अब उनको योजना भने आफ्नै फार्ममा रानी मौरी उत्पादन गर्ने हो। आगामी वर्षदेखि रानी मौरी उत्पादन गरेर मौरीको संख्या विस्तार गर्ने र बाह्य स्रोतमा निर्भरता घटाउने उनको तयारी छ।
औपचारिक शिक्षातर्फ एसएलसीसम्म अध्ययन गरेका राई विदेश भने गएका छैनन्। गाउँमै बसेर कृषि व्यवसायलाई निरन्तरता दिने र मौरीपालनलाई थप विस्तार गर्ने उनको योजना छ।
उनको मेहनतलाई स्थानीय सरकारले समेत सम्मान गरेको छ। यही वर्ष केराबारी गाउँपालिकाले उनलाई उत्कृष्ट कृषकका रूपमा एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको उनले बताए।
“छोड्ने कुरा छैन। अब यसैलाई निरन्तरता दिने र व्यवसायलाई अझै बढाएर लैजाने योजना छ,” उनले भने।
मौरीपालनसँगै गाउँघरमा भइरहेको विषादीको अत्यधिक प्रयोग न्यूनीकरण गर्नुपर्ने विषय पनि राईको चासोमा छ। कृषि क्षेत्रमा प्रयोग हुने विषादीले मौरीमा असर पार्न सक्ने भन्दै त्यसको प्रयोग घटाउन आवश्यक रहेको उनी बताउँछन्।
मौरीपालन गर्न चाहने स्थानीयलाई राईले आफ्नोतर्फबाट सहयोगसमेत गर्दै आएका छन्। खाली घार, मौरी तथा आवश्यक सामग्री उपलब्ध गराएर केही स्थानीयलाई मौरीपालन सुरु गर्न सहयोग गरेको उनले बताए। यस्तो सहयोग आर्थिक लाभका लागि नभई गाउँमा थप मौरीपालक तयार गर्ने उद्देश्यले गरिएको उनको भनाइ छ।
“कसैसँग घार नभएको अवस्थामा मेरोमा भएका खाली घार र आवश्यक सामग्री दिएर सहयोग गर्ने गरेको छु। उहाँहरूले आफैं यसको सम्भावना बुझेर व्यवसायमा लागून् भन्ने हो,” राईले भने।
नयाँ प्रविधि र मौरीपालनका आधुनिक अभ्यास सिक्ने उनको चाहना पनि उत्तिकै बलियो छ। “सिकेर सिकिसकेँ भन्ने हुँदैन,” राई भन्छन्, “नयाँ प्रविधि र नयाँ कुरा आइरहन्छन्। जहाँबाट नयाँ कुरा सिक्न पाइन्छ, त्यहाँ गएर सिक्दै जाने योजना छ।”
परम्परागत रूपमा सुरु भएको मौरीपालनलाई हर्डनको तालिम, सहुलियत कर्जा र आफ्नै प्रयोगबाट व्यवसायमा रूपान्तरण गरेका राई अहिले स्थानीय स्रोतसाधनमा आधारित मौरीपालनको सम्भावना देखाइरहेका छन्। माटोको घरभित्र गुन्जिरहेका सेरेना मौरीसँगै उनको व्यवसाय पनि विस्तारको बाटोमा छ। उनको लक्ष्य अब मौरीको संख्या बढाउनु मात्र होइन, गाउँमै कम लागत, वातावरणमैत्री र दिगो मौरीपालनको नमुना स्थापित गर्नु हो।











