लेटाङ, असार ७ — मोरङको लेटाङ नगरपालिका–९ वडा कार्यालयको नवनिर्मित प्रशासनिक भवन उद्घाटन तथा जग्गादाता सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “सुसंस्कृत समृद्ध नगर, लेटाङवासीको रहर” भन्ने मूल नाराका साथ वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा भूपेन्द्र कुमार लावती को प्रमुख आतिथ्यतामा भवनको विधिवत उद्घाटन गरिएको हो।
कार्यक्रममा कृष्ण कुमारी निरौला, नगरका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले नयाँ प्रशासनिक भवन निर्माणसँगै वडा कार्यालयबाट प्रवाह हुने सेवा थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गरेका थिए।
वडा कार्यालयको प्रशासनिक भवन निर्माणका लागि आवश्यक जग्गा निःस्वार्थ रूपमा उपलब्ध गराई महत्वपूर्ण योगदान पुर्याउने ९ जना जग्गादातालाई कार्यक्रमका बीच सम्मान गरिएको थियो। सम्मानित हुने जग्गादातामा तारानाथ भण्डारी, स्वर्गीय टिकाराम तिम्सिना, स्वर्गीय गणेशबहादुर थापामगर, लाखेन्द्र थापामगर, स्वर्गीय विष्णुलाल निरौला, घनश्याम राई, स्वर्गीय देउबहादुर सार्की, पदमबहादुर बिसंखे तथा कृष्णप्रसाद लुईटेल रहेका छन्। स्वर्गीय जग्गादाताहरूको तर्फबाट परिवारजनले सम्मान ग्रहण गरेका थिए।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख लावतीले स्थानीय समुदायको सहयोग र सहभागिताबिना कुनै पनि विकास निर्माणको काम सफल हुन नसक्ने बताउनुभयो। उहाँले जग्गादाताहरूले गरेको योगदानले नगरको समग्र विकास यात्रामा महत्वपूर्ण उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै उनीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
उहाँले नयाँ भवनले वडा कार्यालयको सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र व्यवस्थित बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि नगर विकासका योजनामा स्थानीयवासीको साथ र सहयोग आवश्यक रहने बताउनुभयो।
कार्यक्रममा वक्ताहरूले जग्गादाताहरूको उदार योगदानको प्रशंसा गर्दै सार्वजनिक हितका लागि गरिएको त्याग भावी पुस्ताका लागि प्रेरणादायी रहने धारणा राखेका थिए। साथै, स्थानीय विकास र सुशासन प्रवर्द्धनमा नागरिक र स्थानीय सरकारबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।
नवनिर्मित प्रशासनिक भवन सञ्चालनमा आएसँगै वडा नं. ९ का सेवाग्राहीहरूले आधुनिक तथा व्यवस्थित वातावरणमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमको समापनमा जग्गादाताहरूलाई सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदानप्रति उच्च सम्मान र धन्यवाद व्यक्त गरिएको थियो।











