लेटाङ, साउन १७ । मोरङको लेटाङ नगरपालिकाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउने उद्देश्यले “सबै धर्मको चाहना, अहिंसा र शान्तिको कामना” भन्ने मूल नारासहित आपसी धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कार्यक्रम आयोजना गरेको छ।
लेटाङ–१ स्थित अन्तरधार्मिक शान्ति पार्कमा सम्पन्न कार्यक्रममा विभिन्न धर्मका धर्मगुरु, सामाजिक अगुवा, जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको प्रारम्भमा सहभागी धर्मगुरु, जनप्रतिनिधि तथा अन्य सहभागीहरूले धर्मको नाममा कुनै पनि प्रकारको हिंसा नगर्न, आपसी सद्भाव, सहिष्णुता र शान्ति कायम गर्नुपर्छ भन्ने सन्देश बोकेका प्लेकार्ड र ब्यानर हातमा लिएर अन्तरधार्मिक शान्ति पार्क परिसरको परिक्रमा गरेका थिए। परिक्रमामार्फत सबै धर्मले शान्ति, प्रेम, सहअस्तित्व र मानवताको शिक्षा दिने साझा सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले धर्म, जाति, भाषा वा संस्कृतिभन्दा माथि उठेर मानवताको भावनासहित अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले सबै धर्मले प्रेम, करुणा, सहिष्णुता, अहिंसा, सहअस्तित्व र आपसी सम्मानको शिक्षा दिने भएकाले समाजमा शान्ति र सद्भाव कायम राख्न सबै नागरिकको साझा दायित्व रहेको बताएका थिए।
वक्ताहरूले पछिल्लो समय सामाजिक सञ्जालमार्फत भ्रामक, उत्तेजक तथा धार्मिक भावना भड्काउने सामग्री प्रसारण भइरहेका घटनाप्रति चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले सामाजिक एकता कमजोर बनाउन सक्ने बताए। उनीहरूले सामाजिक सञ्जालको जिम्मेवार, मर्यादित र तथ्यमा आधारित प्रयोग गर्न सबैलाई आग्रह गर्दै कुनै पनि अपुष्ट सूचना वा द्वेष फैलाउने सामग्री साझा नगर्न अनुरोध गरेका थिए।
कार्यक्रम लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावतीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा हिन्दु, इस्लाम, बौद्ध, इसाई तथा किराँत धर्मका धर्मगुरुहरूले आ–आफ्नो धर्मको मूल सन्देश शान्ति, अहिंसा, सहिष्णुता, क्षमा र भाइचारामा आधारित रहेको उल्लेख गर्दै धार्मिक विविधता नेपालको मौलिक पहिचान र शक्ति भएको धारणा राखेका थिए। उनीहरूले विभिन्न धर्म र समुदायबीचको विश्वास, सम्मान र सहकार्यलाई अझ सुदृढ बनाउन नियमित अन्तरधार्मिक संवाद आवश्यक रहेको बताए।
कार्यक्रमका अवसरमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न संयुक्त अपिल समेत सार्वजनिक गरिएको थियो। अपिलमा कुनै पनि समाजको दिगो विकास, समृद्धि, शान्ति र प्रगतिका लागि धार्मिक तथा सामाजिक सद्भाव अपरिहार्य रहेको उल्लेख गरिएको छ। पछिल्लो समय देशका केही स्थानमा भएका संवेदनशील घटनाले सामाजिक एकता र धार्मिक सहिष्णुतामा चुनौती थपिएको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरिएको छ।
संयुक्त अपिलमा विशेषगरी सुनसरीको कप्तानगञ्जमा गत साउन १० गते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ। साथै घटनाको बहानामा कुनै पनि प्रकारको धार्मिक, सामाजिक वा सामुदायिक द्वन्द्व सिर्जना गर्ने गतिविधिमा संलग्न नहुन सबै पक्षलाई आग्रह गरिएको छ।
अपिलमा समाजमा द्वेष, हिंसा, असहिष्णुता र विभाजन फैलाउने गतिविधिबाट टाढा रहँदै आपसी संवाद, सहकार्य, सहिष्णुता र भाइचारालाई अझ सुदृढ बनाउन सबै नागरिक, सामाजिक संस्था, धार्मिक समुदाय, सञ्चारमाध्यम तथा सरोकारवाला निकायलाई आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरिएको छ।
लेटाङ नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम सामुदायिक विकास मञ्च, नेपाल (C.D.F. Nepal) तथा अन्तरधार्मिक शान्ति सञ्जाल, मोरङको सहकार्यमा आयोजना गरिएको हो। कार्यक्रममा सहभागी धर्मगुरु तथा सरोकारवालाहरूले नेपालको धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधतालाई राष्ट्रिय सम्पत्तिका रूपमा संरक्षण गर्दै शान्तिपूर्ण, सभ्य, समावेशी र सद्भावपूर्ण समाज निर्माणका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमले धार्मिक सहिष्णुता, सामाजिक एकता र जिम्मेवार नागरिकताको सन्देश प्रवाह गर्दै विभिन्न धर्म, समुदाय र संस्कृतिबीच विश्वास तथा सहकार्य अभिवृद्धि गर्ने महत्वपूर्ण प्रयासका रूपमा स्थानीयवासीले समेत सकारात्मक रूपमा लिएको आयोजकले जनाएको छ।











