लेटाङ— मोरङको लेटाङ नगरपालिका–७, वारंगीस्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको बराहजी मन्दिरको जग्गा क्षेत्रफल यकिन, सिमाङ्कन (रेखांकन) तथा ऐतिहासिक अभिलेखीकरणका लागि प्राविधिक सर्वेक्षण सम्पन्न भएको छ। लेटाङ नगरपालिकाले मन्दिरको संरक्षण, व्यवस्थापन तथा दीर्घकालीन विकासलाई लक्षित गर्दै उक्त कार्य सम्पन्न गरेको जनाएको छ।

शुक्रबार नगर प्रमुख भूपेन्द्रकुमार लावती प्राविधिक टोलीसहित मन्दिर परिसर पुगेर स्थलगत अनुगमन गर्नुभएको थियो। सर्वेक्षणमार्फत मन्दिरको वास्तविक जग्गा क्षेत्रफल, सिमाना तथा अभिलेख यकिन गर्ने कार्य सम्पन्न भएको भएको छ। यसबाट मन्दिरको सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा भावी विकास योजनालाई कानुनी र प्राविधिक आधार प्राप्त हुने विश्वास गरिएको छ।

नगर प्रमुख लावतीका अनुसार प्राविधिक प्रतिवेदन तयार भएपछि मन्दिरको आधिकारिक जग्गा क्षेत्रफल सार्वजनिक गरिनेछ। साथै मन्दिरको नाममा कायम भएको जग्गाको फिल्डबुकको एक–एक प्रति लेटाङ नगरपालिका ७ नम्वबर वडाकार्यालय तथा अस्थायी प्रहरी चौकीमा समेत उपलब्ध गराइने जानकारी उहाँले दिनुभयो।

उहाँका अनुसार जग्गाको क्षेत्रफल विधिवत् यकिन गरी सिमाङ्कन सम्पन्न भएपछि भविष्यमा मन्दिरको जग्गामाथि कसैले स्वामित्व दाबी गर्ने, अतिक्रमण गर्ने वा अनावश्यक विवाद सिर्जना गर्ने सम्भावना न्यून हुनेछ। यसले मन्दिरको संरक्षण, व्यवस्थापन तथा विकास निर्माणका कार्यलाई दीर्घकालीन रूपमा प्रभावकारी ढंगले सञ्चालन गर्न सहज वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

पूर्वाधार विकासमा नगरपालिकाको निरन्तर लगानी- नगर प्रमुख लावतीले गत आर्थिक वर्षमा करिब रु. ५ लाखको लागतमा बराहजी मन्दिरको सौन्दर्यकरणका लागि आकर्षक प्रवेशद्वार (गेट) निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो। आगामी दिनमा पनि मन्दिर क्षेत्रको संरक्षणसँगै आवश्यक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाइने उहाँको भनाइ छ।

उहाँले नगरको गौरवको आयोजनाका रूपमा अन्तरधार्मिक शान्ति पार्क निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको उल्लेख गर्दै समला पर्यटन क्षेत्रमा पहुँचमार्ग तथा नक्साङ्कनको काम बाँकी रहेको बताउनुभयो। साथै थामचुली पदमार्ग निर्माणका लागि यही साउन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।

पर्यटन क्षेत्रको समग्र विकासका लागि नगरपालिकाले गुरुयोजनाअन्तर्गत बहुवर्षीय योजना कार्यान्वयन गर्दै धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने रणनीति अपनाएको नगर प्रमुख लावतीले बताउनुभयो।

एक शताब्दीभन्दा पुरानो धार्मिक इतिहास- स्थानीय ज्येष्ठ नागरिक खेमबहादुर लिम्बुका अनुसार वि.सं. १९६२ सालदेखि बराहजी मन्दिरमा नियमित पूजा–आराधना सुरु भएको हो। त्यसयता मन्दिर स्थानीय समुदायको प्रमुख आस्थाको केन्द्रका रूपमा स्थापित हुँदै आएको छ।

स्थानीयवासीहरूले यस मन्दिरलाई ‘माइली बराहजी’ नामले समेत चिन्ने गरेका छन्। पौराणिक मान्यताअनुसार भगवान विष्णुको बराह अवतारसँग सम्बन्धित धार्मिक विश्वासका कारण मन्दिरको विशेष धार्मिक महत्व रहेको छ। यहाँ श्रद्धापूर्वक दर्शन तथा पूजा–आराधना गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। भक्तजनहरूले फलफूल चढाउने तथा जोडी परेवा उडाउने परम्परा आजसम्म निरन्तर रूपमा निर्वाह गर्दै आएका छन्।

कोशी प्रदेशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य- मोरङको लेटाङ नगरपालिका–७, वारंगीमा अवस्थित बराहजी मन्दिर कोशी प्रदेशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। यहाँ प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि कार्तिक पूर्णिमासम्म परम्परागत रूपमा बराहजी मेला आयोजना हुँदै आएको छ।

मेलामा लेटाङसहित मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा तथा कोशी प्रदेशका विभिन्न जिल्लाका साथै देशका अन्य भागबाट हजारौं श्रद्धालु दर्शन तथा पूजाआजाका लागि आउने गर्दछन्।

बराहजी मेला धार्मिक आस्थाको केन्द्र मात्र नभई स्थानीय कला, संस्कृति, परम्परा, कृषि तथा घरेलु उत्पादनको प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा पनि स्थापित भएको छ। मेलाका अवसरमा धार्मिक अनुष्ठान, भजन–कीर्तन, सांस्कृतिक कार्यक्रम, स्थानीय खानाका परिकार, हस्तकला, कृषि उपज प्रदर्शनी तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिन्छ।

यसले धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्र सुदृढीकरण, सांस्कृतिक संरक्षण तथा सामाजिक सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको स्थानीयवासीहरूको भनाइ छ।

योजनाबद्ध संरक्षणमा जोड- धार्मिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण भए पनि भौगोलिक दुर्गमता, अपर्याप्त पूर्वाधार तथा सीमित प्रचार–प्रसारका कारण बराहजी मन्दिरको अपेक्षित विकास हुन नसकेको सरोकारवालाहरूको भनाइ छ।

नगरपालिकाले भने मन्दिरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई दीर्घकालसम्म संरक्षण गर्दै अभिलेखीकरण, जग्गा संरक्षण तथा योजनाबद्ध पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। प्राविधिक सर्वेक्षण सम्पन्न भएसँगै मन्दिरको संरक्षण तथा धार्मिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय