इटहरी, सुनसरी — जेनजी समूहको आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको इटहरीस्थित यातायात व्यवस्था कार्यालय अझैसम्म पूर्ण रूपमा पुनर्निर्माण हुन सकेको छैन। भौतिक पूर्वाधार पुनर्स्थापना नहुँदा कार्यालयले दैनिक सेवा प्रवाहमा गम्भीर समस्या भोगिरहेको छ भने सेवाग्राहीहरू दिनहुँ सास्ती खेप्न बाध्य भएका छन्।
कार्यालयमा सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दै गए पनि आवश्यक संरचना र व्यवस्थापन अभावका कारण प्रभावकारी सेवा दिन सकिएको छैन। कार्यालय परिसरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था नभएकाले दुवैलाई एउटै शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। यसले विशेषगरी महिला सेवाग्राहीलाई असहज बनाएको गुनासो छ।
त्यस्तै, पर्याप्त कार्यकक्ष नहुँदा कर्मचारीहरू बाहिरै बसेर सेवा दिन बाध्य भएका छन्। अस्थायी व्यवस्थाबाट सेवा दिँदा कामको गति सुस्त भएको र सेवाग्राहीलाई लामो समय पर्खिनु परेको छ।
२०८१ साल अघि नै ट्रायल पास गरेका सेवाग्राहीहरू फिजिकल लाइसेन्स लिन कार्यालय पुगे पनि अव्यवस्थित अवस्थाका कारण तत्काल सेवा दिन नसकिएको कार्यालयले जनाएको छ। हालसम्म विभागबाट ९४ हजारभन्दा बढी फिजिकल लाइसेन्स प्राप्त भइसकेको र ती लाइसेन्सहरू सर्टिङ गर्ने काम भइरहेको जानकारी दिइएको छ।
कार्यालय प्रमुख सुबास कार्कीका अनुसार आगामी दुई हप्ताभित्र सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र वितरण सुरु गर्ने तयारी भइरहेको छ। “हामीले प्राप्त लाइसेन्सहरू व्यवस्थित गर्दैछौं, अबको दुई हप्ताभित्र वितरण प्रक्रिया सुरु हुन्छ,” उनले बताए।
यता, टाढाटाढाबाट आएका सेवाग्राहीले भने पूर्वसूचना बिना कार्यालय पुग्दा दुःख पाउनुपरेको गुनासो गरेका छन्। एक सेवाग्राहीले नागरिक एपमा लाइसेन्स प्रिन्ट भएर आएको र सम्बन्धित कार्यालयबाट लिन सकिने सूचना पाएपछि इटहरी पुगे पनि वितरणको तयारी नभएको पाइएपछि निराश हुनुपरेको बताए।
कार्यालयको अव्यवस्था, सूचना अभाव र ढिलाइले सेवाग्राहीमा असन्तोष बढ्दै गएको छ। सरोकारवालाहरूले तत्काल पुनर्निर्माण र सेवा व्यवस्थापन सुधारमा ध्यान पुर्याउन आवस्यक छ।










