
काठमाडौं- माण्डु हाइड्रोपावर लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा प्रिमियम वापत् रू. १०६ थप गरी प्रतिकित्ता रू. २०६ मा आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले जारी पूँजी रू. १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार को २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरिएको हो ।
स्थानीयका लागि विक्रीमा ल्याइने शेयरमा ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं. ५,६, ७ र ८ तथा ईन्द्र सरोबर गाउँपालिका वडा नं. ३ का स्थानीयले आवेदन दिन सक्नेछन् ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता शेयर विक्रीमा आउनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ विक्री अवधि छिटोमा साउन ११ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि साउन २६ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गतेभित्र आवेदन दिनु पर्नेछ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीयले आयोजना स्थल, कुमारी बैंक, प्रभु बैंक तथा प्रभु क्यापिटलका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीले मकवानपुर जिल्लामा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७५ साल चैत १९ गतेदेखि व्यापारिक उत्पादन सुरू भएको हो । उक्त आयोजनको कुल निर्माण लागत रू. ४ अर्ब १ करोड ९४ लाख ३७ हजार रहेको छ भने प्रतिमेगावाट औषत लागत रू. १८ करोड २७ लाख रहेको छ ।