काठमाडौँ, १८ असोज :- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालबाट उपचारपछि घर फर्कनुभएको छ ।
उहाँका स्वकीय सचिव मोहन गौतमले स्वास्थ्यमा सुधार भएपछि आज घर फर्कनुभएको जानकारी दिनुभयो । उहाँका अनुसार नेता नेपाल चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य संवेदनशीलताका कारण केही दिन घरमै आराम गर्नुहुनेछ ।
यही असोज १३ गते बेलुका अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारमा अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली संलग्न रहेको थियो ।