काठमाडौं – मन्त्रिपरिषद विस्तार लगायत विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज (बुधबार) पनि बस्ने भएको छ ।
आज साँझ गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । बैठक बस्ने तय भएपनि सिंहदरबार वा बालुवाटार कहाँ बस्ने भन्ने टुंगो लागिसकेको छैन ।
मंगलबार पनि गठबन्धन दलको बैठक बसेको थियो । उक्त बैठकमा डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो ।
मंगलबारको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीको नामावाली उपलब्ध गराउन आग्रह गरेका थिए । सोही अनुसार मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडामा बसिरहेको छ भने काँग्रेसको पदाधिकारी बैठक पनि सिंहदरबारमा केहीबेरमा बस्दैछ ।
गत असार २९ गते प्रधानमन्त्री नियुक्त देउवाको मन्त्रिपरिषद ६ सदस्यीय मात्र छ । अझै १६ मन्त्रालय प्रधानमन्त्री देउवा आफैंले सम्हालिरहेका छन् ।