अर्जुन लिम्बू- लेटाङ । जीवनमा सफलता हासिल गर्न शारीरिक रूपमा सबल हुनैपर्छ भन्ने मान्यता टंक बहादुर विश्वकर्माको जीवन कथाले गलत सावित गरिदिएको छ। लेटाङ नगरपालिका–५ निवासी टंक बहादुर विश्वकर्मा पाँच वर्षको उमेरमै पोलियोबाट प्रभावित भए। पोलियोका कारण शारीरिक अपाङ्गता भोग्नुपरे पनि उनले कहिल्यै आफ्नो आत्मविश्वास गुमाएनन्। बरु संघर्षलाई नै सफलताको आधार बनाएर आज धेरैका लागि प्रेरणाको स्रोत बनेका छन्।

सानै उमेरदेखि मेहनत, लगनशीलता र कर्मप्रति विश्वास राख्ने टंक बहादुरको जीवन सहज थिएन। गाउँघरमा रोजगारीको अभाव थियो, आर्थिक अवस्था कमजोर थियो। शारीरिक रूपमा अपाङ्गता भएकाले समाजको दृष्टिकोण पनि धेरै पटक चुनौतीपूर्ण बन्ने गर्थ्यो। तर उनले परिस्थितिलाई दोष दिएर बस्ने बाटो रोजेनन्। बरु अवसरको खोजीमा लागे।

वि.सं. २०५० सालतिर उनी रोजगार र भविष्यको खोजीमा काठमाडौं पुगे। त्यतिबेला उनको जीवनमा कुनै निश्चित गन्तव्य थिएन। काठमाडौंका गल्ली–गल्ली भौतारिँदै हिँड्ने क्रममा एक दिन उनी आकस्मिक रूपमा समाज कल्याण परिषद्को गेट अगाडि पुगे। भवन देखेपछि उनको मनमा जिज्ञासा जाग्यो। गेटमा रहेका सुरक्षाकर्मीलाई परिषद्का अधिकारीसँग भेट्न दिन आग्रह गरे। केही समयपछि उनी परिषद्को कार्यालयभित्र पुग्न सफल भए।

त्यहाँ उनले संस्थाले गर्ने काम र उपलब्ध गराउने अवसरबारे जानकारी लिए। परिषद्का एक अधिकारीले संस्थाले सीपमूलक तालिम सञ्चालन गर्ने जानकारी दिए। टंक बहादुरले तत्काल आफू पनि कुनै सीप सिक्न चाहेको बताए। उनको उत्साह, आत्मविश्वास र निर्धक्क बोल्ने क्षमताले अधिकारीहरू प्रभावित भए। कक्षा १० सम्मको अध्ययन पूरा गरेका उनी स्पष्ट रूपमा आफ्ना कुरा राख्न सक्थे। यही विशेषताका कारण उनलाई सिलाइ–कटाइ तालिममा सहभागी हुने अवसर प्राप्त भयो।

उनी सम्झिन्छन्, “त्यो समयमा पूर्वदेखि पश्चिमसम्मका करिब ३०–३५ जना तालिममा सहभागी भएका थिए। बस्न, खान र भत्ताको समेत व्यवस्था थियो। मलाई त्यो तालिमले जीवन बदल्ने अवसर दिएको थियो।”

छ महिनासम्म सञ्चालन भएको सिलाइ–कटाइ तालिम उनले सफलतापूर्वक पूरा गरे। तालिम सकिएपछि अधिकांश सहभागीहरू आफ्ना–आफ्ना गाउँघर फर्किए। तर टंक बहादुरको कथा त्यहाँ समाप्त भएन। अपाङ्गता भएका कारण परिषद्ले उनको लगनशीलता र क्षमता देखेर रोजगारीको प्रस्ताव राख्यो।

सिलाइ–कटाइ सिकेको जम्मा छ महिना मात्र भएको थियो। अरूलाई सिकाउने अनुभव थिएन। तर उनले आत्मविश्वास गुमाएनन्। “म सिकाउन सक्छु” भन्ने साहस र अठोटका साथ जिम्मेवारी स्वीकार गरे। त्यसपछि समाज कल्याण परिषद्ले उनलाई १० वर्षका लागि नियुक्ति दियो। यही निर्णयले उनको जीवनको दिशा परिवर्तन गरिदियो।

त्यतिबेला रोज क्लब कोरिया र समाज कल्याण परिषद्को संयुक्त लगानीमा सञ्चालित व्यावसायिक तालिम तथा उत्पादन केन्द्रमा उनले प्रशिक्षकका रूपमा काम गरे। उनले सयौँ युवायुवतीलाई सिलाइ–कटाइ सम्बन्धी सीप सिकाए। उनी आफैं अपाङ्गता भएका व्यक्ति भए पनि अरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने प्रशिक्षकका रूपमा स्थापित भए।

नेपालमा राजसंस्था अन्त्य भएपछि उक्त संस्था बन्द भयो। धेरै मानिसहरू रोजगारीविहीन बने। तर टंक बहादुरले फेरि हार मानेनन्। आफ्नै अनुभव र सीपको आधारमा उनले “मोरङ गार्मेन्ट सिलाइ प्रशिक्षण केन्द्र” दर्ता गरी सञ्चालन सुरु गरे। त्यसयता उनी निरन्तर रूपमा सिलाइ–कटाइ तालिम प्रदान गर्दै आएका छन्। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले सञ्चालन गरेका सीपमूलक कार्यक्रमहरूमा प्रशिक्षक र सहजीकरणकर्ताका रूपमा पनि उनले काम गर्ने अवसर प्राप्त गरेका छन्।

उनको अनुभवले एउटा स्पष्ट सन्देश दिन्छ—सीप भए रोजगारीका अवसर नेपालमै प्रशस्त छन्। उनी भन्छन्, “रोजगार नेपालमै छ, तर अहिले धेरै मानिस कामभन्दा विदेश जाने मोहमा छन्। काम गर्ने जनशक्ति अभाव भएर बाहिरबाट कामदार ल्याउनुपर्ने अवस्था छ। यदि सीप सिक्ने हो भने नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ।”

सिलाइ–कटाइ पेसाले नै उनको जीवनलाई आत्मनिर्भर बनायो। यही पेसाबाट कमाएर उनले घर बनाए, परिवार पाले र सामाजिक पहिचान स्थापित गरे। “म अपाङ्ग भएर पनि कहिल्यै हिम्मत हारिनँ,” उनी गर्वका साथ भन्छन्, “सिलाइ–कटाइले नै मेरो जीवन बनायो। आज पनि कसैले सिक्न चाह्यो भने म सिकाउन तयार छु।”

टंक बहादुरको क्षमता सिलाइ–कटाइमा मात्र सीमित छैन। उनी कृषिमा पनि उत्तिकै सक्रिय छन्। आफ्नो घरनजिक रहेको दुई कट्ठा जमिनमा सिजनअनुसार विभिन्न तरकारी खेती गर्दै आएका छन्। करेला, काक्रो, भिण्डी, फर्सी लगायतका तरकारी उत्पादन गरेर उनले परिवारको आवश्यकता पूरा गर्नुका साथै अतिरिक्त आम्दानी पनि गरिरहेका छन्।

उनको करेसाबारी हेर्दा मेहनत र लगनशीलताको स्पष्ट झल्को देखिन्छ। शारीरिक अपाङ्गता भए पनि उनी खेतीपातीमा सक्रिय रूपमा लागेका छन्। उनी भन्छन्, “तरकारी खेतीबाट धेरै ठूलो आम्दानी नहोला, तर घरखर्चमा सहयोग पुगेको छ। कृषि मेरो आम्दानीको सहायक स्रोत बनेको छ।”

टंक बहादुर विश्वकर्माको जीवन संघर्ष, साहस र आत्मविश्वासको अनुपम उदाहरण हो। शारीरिक अपाङ्गतालाई कमजोरी होइन, चुनौतीका रूपमा स्वीकार गर्दै उनले आफूलाई सक्षम व्यक्तिका रूपमा स्थापित गरेका छन्। अवसर खोज्दै काठमाडौंको गल्लीमा भौतारिएका एक युवक आज सयौँलाई सीप सिकाउने प्रशिक्षक बनेका छन्।

उनको जीवनले एउटा महत्वपूर्ण सन्देश दिन्छ—सफलताका लागि शारीरिक सबलता भन्दा पनि दृढ इच्छाशक्ति, मेहनत र आत्मविश्वास आवश्यक हुन्छ। परिस्थितिले जति कठिन मोड ल्याए पनि हिम्मत नहार्ने हो भने जीवनमा सफलता सम्भव छ भन्ने जीवित उदाहरण हुन् टंक बहादुर विश्वकर्मा। उनी आज पनि निरन्तर रूपमा सीप सिकाउँदै, कृषि गर्दै र आत्मनिर्भरताको सन्देश फैलाउँदै आफ्नो यात्रालाई अघि बढाइरहेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय