चितवन। चितवनको सौराहामा आयोजित ११औँ क्योरुगी तेक्वान्दो रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स र ४औँ पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स सम्पन्न भएको छ।

चितवन जिल्ला तेक्वान्दो संघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा देशभरबाट करिब २०० जना तेक्वान्दो प्रशिक्षक तथा रेफ्रीहरूको सहभागिता रहेको थियो। रेफ्री तथा प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले यसले आफूहरूलाई थप दक्ष, परिष्कृत र अद्यावधिक हुन महत्वपूर्ण सहयोग पुगेको बताएका छन्।

सहभागीहरूले चितवन जिल्ला तेक्वान्दो संघले तेक्वान्दो खेलको विकास र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको भन्दै संघको नेतृत्व तथा कार्यसमितिको खुलेर प्रशंसा गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका–८ का वडा अध्यक्ष, नगर खेलकुद विकास समितिका संयोजक तथा राष्ट्रिय तेक्वान्दो खेलाडी कृष्ण चौधरीले यस्ता रिफ्रेसर कार्यक्रमले खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै चितवन जिल्ला तेक्वान्दो संघको पहलको प्रशंसा गरे। उनले आगामी दिनमा पनि आफूबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

चितवन जिल्ला तेक्वान्दो संघका अध्यक्ष शैलेस श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले संघको मुख्य उद्देश्य वास्तविक खेलाडी तथा प्रशिक्षकहरूको हितमा काम गर्नु रहेको उल्लेख गर्दै त्यसका लागि निरन्तर सक्रिय रहने र आगामी दिनमा अझ प्रभावकारी तथा उत्कृष्ट कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए। उनले कार्यक्रम सफल बनाउन संयोजक नारन नहर्कीले खेलेको अतुलनीय भूमिकाको प्रशंसा गर्दै आभार व्यक्त गरे।

कार्यक्रममा रत्ननगर–६ का वडा अध्यक्ष किरण महत्तो, प्रशिक्षक नर्वु लामा, तेक्वान्दो प्रशिक्षक रोसन खान, नेपालीज फुटबल एसोसिएसन मलेसियाका अध्यक्ष सन्तोष भट्ट, जिल्ला कार्यसमितिका उपाध्यक्ष धनबहादुर दराई, कोषाध्यक्ष प्रदीप श्रेष्ठ तथा सदस्यहरू अभिषेक गौतम, विनोद श्रेष्ठ, सुरज पौडेललगायतको उपस्थिति रहेको चितवन जिल्ला तेक्वान्दो संघका सचिव विक्रम श्रेष्ठले जानकारी दिए।

समापन समारोहमा सहभागीहरूलाई मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय