लेटाङ, असार ३२ – मोरङको लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। लेटाङ–५ स्थित उद्यम तथा रोजगार नागरिक सेवा केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका राज्यमन्त्री उमाकान्त गौतम रहेका थिए भने विशिष्ट अतिथि पूर्व कानुनमन्त्री तथा पूर्व राजदूत शिवमाया तुम्बाहाम्फे रहेकी थिइन्। कार्यक्रमको अध्यक्षता लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावती ले गरेका थिए। कार्यक्रममा उपप्रमुख कृष्णकुमारी निरौला, नगरपालिकाका वडा अध्यक्षहरू, कर्मचारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नगरप्रमुख लावतीले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगार, सामाजिक सुरक्षा, सुशासन तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर योजना कार्यान्वयन गरिने बताए। प्रमुख अतिथि गौतम र विशिष्ट अतिथि तुम्बाहाम्फेले स्थानीय सरकारको विकास, पारदर्शी शासन र नागरिक सहभागितालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
उक्त अवसरमा लेटाङ घर भई हाल देशका विभिन्न सञ्चार माध्यममा कार्यरत तथा स्थानीय स्तरमा क्रियाशील एक दर्जन पत्रकारलाई सम्मान गरिएको थियो। पत्रकारितामार्फत स्थानीय विकास, सुशासन, सूचना प्रवाह तथा जनचेतना अभिवृद्धिमा पुर्याएको योगदानको कदरस्वरूप नगरपालिकाले सम्मानपत्र प्रदान गरेर सम्मान गरेको हो ।
सम्मानित हुने पत्रकारहरूमा मोरङ खबरका सञ्चालक तथा सम्पादक रेवती रमण निरौला, लेटाङ खबरका सञ्चालक तथा सम्पादक प्रशान्त निरौला, सन्देश प्रवाह डटकमका सञ्चालक तथा सम्पादक अर्जुन लिम्बू, गोर्खापत्रका संवाददाता हरिप्रसाद कोइराला, श्रीबिन्दु डटकमकी सञ्चालिका तथा सम्पादक मनिषा भण्डारी, फोटो पत्रकार शेखर पोख्रेल (मनिष), संगीता राई, उद्घोष दैनिकका संवाददाता सुरेश अधिकारी लगायत एक दर्जन सञ्चारकर्मी रहेका थिए।
कार्यक्रममा सहभागीहरूले सार्वजनिक गरिएको बजेट, नीति तथा कार्यक्रमबारे सुझाव तथा धारणा राखेका थिए। नगरपालिकाले आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पारदर्शी, उत्तरदायी र सहभागितामूलक स्थानीय शासनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।











