मोरङको लेटाङ नगरपालिका र मिक्लाजुङ गाउँपालिकालाई जोड्ने तेलिखोला पुल निर्माण प्रक्रिया अघि बढेको छ। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय (LIDPO), इटहरीले पुल निर्माणका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (ठेक्का) आह्वान गरेको हो।
प्रकाशित सूचना अनुसार चुलाचुली–मिक्लाजुङ–लेटाङ मार्गअन्तर्गत तेलिखोला पुल निर्माण कार्यका लागि करिब २२ करोड ५० लाख रुपैयाँ बराबरको आयोजनाको ठेक्का प्रक्रिया सुरु गरिएको छ। यो पुल निर्माणपछि वर्षायाममा आवागमनमा हुने समस्या अन्त्य हुने र लेटाङ–मिक्लाजुङ क्षेत्रको यातायात तथा आर्थिक गतिविधि सहज हुने अपेक्षा गरिएको छ।
यस पुल निर्माणको विषय २०८० साल पुस ६ गते मिक्लाजुङ गाउँपालिका–५, खोलीटारस्थित खेलमैदानमा आयोजित ‘जनतासँग माओवादी’ अभियान को कार्यक्रममा पनि उठेको थियो। कार्यक्रममा सहभागी तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीयवासीको माग सुनेपछि लेटाङ–मिक्लाजुङ जोड्ने तेलिखोलामा पक्की पुल निर्माणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
करिब तीन वर्षपछि पुल निर्माणका लागि औपचारिक रूपमा ठेक्का आह्वान भएसँगै प्रचण्डले सार्वजनिक रूपमा गरेको प्रतिबद्धता कार्यान्वयनको चरणमा प्रवेश गरेको स्थानीयको अपेक्षा छ। स्थानीयवासीले भने ठेक्का प्रक्रिया समयमै सम्पन्न गरी गुणस्तरीय निर्माण सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।












