लेटाङ, मङ्सिर-२४। लेटाङ नगरपालिका वडा नम्बर- ४ नेपाल सरकार द्वारा तोकिएका ५१ सूचकहरू पूरा गर्दै आधिकारिक रूपमा बालमैत्री शासनयुक्त वडा घोषणा गरिएको छ। बुधबार आयोजित समारोहमा बालमैत्री स्थानीय शासन नगर समिति अध्यक्ष तथा नगर प्रमुख भुपेन्द्र कुमार लावतीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष आजम्बर राई उपस्थित रहेका थिए।
कार्यक्रमको स्वागत मन्तव्य वडा अध्यक्ष रामकुमार श्रेष्ठले दिएका थिए। उनले बालमैत्री वडा घोषणा प्रक्रियामा साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो। त्यस्तै, नगर उपप्रमुख तथा नगर बालअधिकार समिति अध्यक्ष कृष्ण कुमारी निरौला (पोख्रेल), प्रशासकीय अधिकृत सशि राई, र एकल महिलाको तर्फबाट शुभद्रा भट्टराईले शुभकामना मन्तव्य राख्नुभयो।
कार्यक्रममा सुरक्षा अधिकारी तथा ईलाका प्रहरी कार्यालय लेटाङका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। उनीहरूले बालमैत्री वातावरण निर्माण र बालअधिकार संरक्षणमा सुरक्षातन्त्रको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
कार्यक्रमको मुख्य भागमा वडा कार्यालयमा टाँसिएको बालमैत्री वडा घोषणा प्लेटको ब्यानर जिल्ला समन्वय समिति प्रमुख राईले पढेर औपचारिक घोषणा गरेका थिए। घोषणापछि नगर प्रमुख भुपेन्द्र कुमार लावतीले लेटाङमा पहिलोपटक बालमैत्री स्थानीय शासन लागू गर्ने अभियानमा साथ दिने सबैप्रति धन्यवाद व्यक्त गर्दै भने,“अब घोषणा मात्र होइन, बालश्रम, बाल हिंसा, शिक्षा, स्वास्थ्यलगायतका मुद्दामा अझ संवेदनशील भएर काम गर्नुपर्नेछ।”
यसैगरी नगरप्रमुख सहित कार्यक्रमका विभिन्न वक्ताहरूले बालमैत्री स्थानीय शासन प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रत्येक आर्थिक वर्षमा छुट्टै बजेट विनियोजन गर्नुपर्ने रहेको धारणा राखे।
भने कार्यक्रममा स्थानीय प्रतिनिधि, शिक्षक, बाल क्लब, अभिभावक तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो ।










