लेटाङ । श्रम सस्कृती पार्टी लेटाङले लेटाङ–१ बगुवा र लेटाङ–६ पार्टी खेत जोड्ने चिसाङ खोलामा झोलुङ्गे पुल निर्माणका लागि अभियान थालनी गरेको छ। पुल निर्माणलाई व्यवस्थित रूपमा अघि बढाउन कुल बहादुर वाजी लिम्बुको अध्यक्षतामा ९ सदस्यीय विशेष उपभोक्ता समिति गठन गरिएको छ।

दार्चुलामा ‘ट्विन’ विस्थापन गरी झोलुङ्गे पुल निर्माण अभियानका लागि विशेष रुपमा चासो राखेको श्रम सस्कृती पार्टीले अब लेटाङमा पनि सोही प्रकारको पहल अघि बढाएको हो। पार्टीले लेटाङ–१ का स्थानीयले वर्षौंदेखि भोग्दै आएको समस्या उजागर गर्दै पुल निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ।

विशेषगरी बर्खायाममा चिसाङ खोलामा आउने बाढीका कारण आवतजावत निकै कष्टकर बन्दै आएको छ। बिरामीलाई अस्पताल पुर्‍याउन, अत्यावश्यक प्रशासनिक कामका लागि लेटाङ नगरपालिका पुग्न तथा दैनिक जीवन सञ्चालनमा समेत स्थानीयले ठूलो सास्ती भोग्दै आएका छन्। यस्तो अवस्थामा झोलुङ्गे पुल निर्माणको अभियान सुरु भएपछि स्थानीयले त्यसको स्वागत गरेका छन्।

गठित समितिका अध्यक्ष कुल बहादुर वाजी लिम्बूका अनुसार, २०७४ सालमै सहरी विकास मन्त्रालयमार्फत पुल निर्माणका लागि डीपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) तयार भएको भए पनि हालसम्म कार्यान्वयनमा चासो नदेखाइएकाले नयाँ शिराबाट अभियान सुरु गर्नुपरेको हो।

समितिले पुल निर्माणका लागि आवश्यक समन्वय गर्न सहरी विकास परियोजना इटहरीमा निवेदन दिने, तथा बजेट सुनिश्चितताका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। यदि बाह्य स्रोतबाट बजेट व्यवस्थापन हुन नसकेको अवस्थामा श्रमदानमार्फत नै पुल निर्माण गर्ने योजना समेत अघि सारिएको छ।

यसैगरी, कामलाई औपचारिकता दिन लेटाङ–१ र लेटाङ–६ नम्बर वडा कार्यालयबाट सिफारिस लिएर प्रक्रिया अगाडि बढाइने समितिले जनाएको छ।

नवगठित ९ सदस्यीय उपभोक्ता समितिमा अध्यक्ष कुल बहादुर वाजी लिम्बू, सचिव शान्तिराम वाजी लिम्बू, कोषाध्यक्ष मनकुमारी मगर रहेका छन्। सदस्यहरूमा निर्मल थापा मगर, सिर्जना लिम्बू, नन्दबहादुर लिम्बू, रितु राई, उर्मिला तामाङ राई र मनबहादुर लिम्बू रहेका छन्।

झनै चिन्ताजनक पक्ष के छ भने, चिसाङ खोलामा बर्सेनि हुने दुर्घटनामा स्थानीयले ज्यान गुमाउँदै आएका छन्। यस वर्ष मात्रै खोलाले २ जनाको ज्यान लिएपछि विषयले थप गम्भीरता पाएको छ। यस अवस्थालाई मध्यनजर गर्दै श्रम सस्कृती पार्टीले पुल निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ।

झोलुङ्गे पुल निर्माण सम्पन्न भएमा दुई वडाबीचको आवतजावत सहज हुने मात्र नभई स्थानीयको दैनिक जीवन, स्वास्थ्य सेवा पहुँच र प्रशासनिक काममा समेत ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय