संविधानको धारा १६८को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति देखेर कात्तिक २२ गते प्रदेश सभामा राजीनामा घोषणा गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सबैभन्दा ठूलो दलको हैसियतमा एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
मधेश प्रदेशका दलका नेता र राजनीतिक विश्लेषकहरुले संघीयता नै खतरामा पार्ने खेल खेलेको भन्दै प्रदेश प्रमुखको आलोचना गर्दै आएका छन् । तर नवनियुक्त मुख्यमन्त्री यादवले बाध्यात्मक अवस्थामा बनेको मुख्यमन्त्रीबाट संविधान, राष्ट्रियता, राष्ट्रिय अखण्डता र संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै आघात नहुने बताएका छन् ।
स्वास्थ्य उपचारका लागि काठमाडौं जान्छु भनेर हिँडेकी प्रदेश प्रमुख सुवेदीले महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित पानस होटलमा सोमबार बिहान झिसमिसेमा यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी थिइन् ।
यसको चौतर्फी आलोचना भएपछि सोमबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई पदबाट हटाउँदै उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।










