अर्जुन लिम्बु, लेटाङ।
मोरङको लेटाङ नगरपालिका–६ को एउटा सानो, अँध्यारो कोठामा अहिले एक पुरुष जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेका छन्। ओछ्यानमै पल्टिरहेका ती पुरुष हुन् – दार्जिलिङका ईन्द्रबहादुर थापा, शरीर रोगले थलिएको छ, आँखामा पीडा र निराशा मिसिएको छ, अनि मनभित्र असह्य एक्लोपनाको भारी।
करिब २० वर्षअघि भारतको दार्जिलिङबाट रोजगारी र उज्यालो भविष्य खोज्दै नेपाल छिरेका ईन्द्रबहादुरले कल्पनासमेत गरेका थिएनन् कि जीवनको अन्तिम मोड यति कठोर हुनेछ।
युवावस्थामा उनी श्रम गर्न सक्षम थिए, सपनाहरू थिए, परिवार थियो, तर समयले उनलाई यस्तो ठाउँमा ल्याइपुर्यायो, जहाँ आज उनीसँग न परिवारको साथ छ, न नागरिकताको आधार, न उपचार खर्च जुटाउने सामर्थ्य। दार्जिलिङबाट नेपाल आएपछि उनले सुरुमा झापाको काकडभिट्टामा दैनिक ज्यालादारी काम गरे। बिहान सबेरै कामको खोजीमा निस्किने र बेलुका थाकेको शरीर लिएर फर्किने उनको दैनिकी थियो। हातले काम गरेपछि मात्रै चुलो बल्ने अवस्था थियो। तर श्रमसँग उनी कहिल्यै भागेनन्।
केही वर्षपछि उनी मोरङको लेटाङ पुगे, त्यहाँ उनले घर रंगरोगन गर्ने, मजदुरी गर्ने र निर्माणसम्बन्धी काम गरेर जीवन धान्दै आए। गाउँघरमा मेहनती कामदारका रूपमा चिनिएका ईन्द्रबहादुर दिनभर पसिना बगाउँथे। अरूको घर रंग्याउँदै, अरूका भवन बनाउँदै उनले आफ्ना सपनाहरू पनि सजाएका थिए। तर अहिले ती हातहरू चल्न छाडेका छन्।
जसले अरूको घर सजाउँथे, आज तिनै हातहरू औषधि किन्नसमेत असक्षम भएका छन्।
२०८३ सालको बैशाख १ गतेपछि अचानक उनको स्वास्थ्य बिग्रिन थाल्यो, सुरुमा सामान्य कमजोरीजस्तो लागेको समस्या विस्तारै गम्भीर बन्दै गयो। शरीर सुन्निने, खाना खानासाथ बान्ता हुने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएपछि उनलाई विराटनगरस्थित नोभेल अस्पताल पुर्याइयो।
जाँचपछि चिकित्सकले उनको फोक्सो र कलेजोमा पानी जमेको बताए। अहिले पनि उनको हालत पुरानै जस्तो छ स्वास्थ्यमा कतिपनि सुधार आएन । त्यसपछि सुरु भयो अस्पताल र औषधिको संघर्ष।
मजदुरी गरेर कमाएको थोरै रकम उपचारमै सकियो, घरमा भएको नगद सकियो, घरभाडा तिर्न धौधौ छ चिनेका जानेकासँग सहयोग मागियो, स्थानीय संघ–संस्थाले पनि केही राहत दिए। तर दीर्घ उपचारका लागि त्यो पर्याप्त भएन। अहिले अवस्था यस्तो छ कि औषधि किन्ने पैसा जुटाउनसमेत समस्या परेको छ। शरीर कमजोर बन्दै गएको छ। उनी धेरैजसो समय ओछ्यानमै बिताउँछन्। उठेर बस्न समेत सक्दैनन्, कहिलेकाहीँ आँखा टोलाएर छानो हेर्छन्, मानौँ जीवनका अधुरा कथाहरू सम्झिरहेका छन्।
तर रोगभन्दा पनि ठूलो पीडा उनको जीवनमा अर्को छ —
पहिचानविहीनता-
ईन्द्रबहादुरसँग अहिले कुनै वैधानिक नागरिकता छैन। भारतीय नागरिकताको प्रमाणका रूपमा दार्जिलिङ जिल्लाबाट जारी गरिएको एउटा पुरानो, च्यात्तिएको परिचयपत्र मात्रै छ। नेपाली नागरिकता छैन, न त आफू नेपाली मूलको भएको प्रमाणित गर्ने कुनै कागजात। यही कारणले गर्दा उनले राज्यबाट पाइने धेरै सेवा र सहायता पाउन सकेका छैनन्। स्थानीय तह वा नगरपालिकाबाट उपलब्ध हुने आर्थिक सहयोगका लागि पनि नागरिकताको प्रमाण आवश्यक पर्छ। तर उनीसँग त्यो छैन।
रोगले थलिएका उनी राज्यको प्रणालीभित्र “अस्तित्वविहीन” जस्तै बनेका छन्।
“म सँग कागज छैन, त्यसैले कसैले पनि पूर्ण रूपमा सहयोग गर्न सक्दैन,” उनी कमजोर स्वरमा भन्छन्। उनको व्यक्तिगत जीवन पनि कम पीडादायी छैन।
दार्जिलिङबाट उनीसँगै नेपाल आएकी उनकी श्रीमती केही वर्षअघि अर्कै व्यक्तिसँग विवाह गरेर गइन्। त्यसपछि परिवारको सम्पूर्ण जिम्मेवारी उनले एक्लैले बोके।
उनका एक छोरा हर्कबहादुर थापा छन् भने छोरी रुपमेणीको विवाह दिल्लीमा भइसकेको छ। तर अहिले उनीहरू पनि उनीसँग सम्पर्कमा छैनन्। २० वर्षयता कोहि आफन्त संग सम्पर्क छैन।
बुढेसकाल र रोगको समयमा साथ दिनुपर्ने परिवार टाढा छ, अनि उनी आफैँ अशक्त बनेर ओछ्यानमा थला परेका छन्।
सबैभन्दा दर्दनाक कुरा त के छ भने, दार्जिलिङमा रहेका उनका वृद्ध बुवा–आमासम्म पनि उनको वास्तविक अवस्थाको खबर पूर्ण रूपमा पुगेको छैन। “यदि घरमा मेरो अवस्था थाहा पाएको भए सायद केही सहयोग गर्थे होला,” उनले आँखा रसाउँदै भने। उनको कोठामा अहिले सन्नाटा बढी बोल्छ।
नियमित आय छैन, शरीरले काम गर्दैन, औषधि आवश्यक छ, तर स्रोत छैन। छिमेकीहरूले कहिलेकाहीँ खाना ल्याइदिन्छन्। कोही आएर अवस्था बुझेर जान्छन्। तर त्यो क्षणिक सहारा मात्रै हो।
स्थानीयवासीहरू भन्छन्, “ईन्द्रबहादुरजस्ता मजदुरहरूले जीवनभर अरूका लागि पसिना बगाए, तर आज उनीहरू आफैँ संकटमा पर्दा हेर्ने कोही छैन।”
यो घटना केवल एक व्यक्तिको पीडा होइन, समाज र राज्य दुवैको संवेदनशीलतामाथि उठेको गम्भीर प्रश्न पनि हो। दैनिक ज्यालादारी गरेर जीवन धान्ने हजारौं श्रमिकहरू कुनै सामाजिक सुरक्षा बिना बाँचिरहेका छन्। बिरामी पर्दा उपचारको ग्यारेन्टी छैन, वृद्धावस्थामा सहारा छैन, र कागजात नहुँदा राज्यको पहुँचभन्दा बाहिर धकेलिनुपर्ने बाध्यता छ।
ईन्द्रबहादुरको जीवन अहिले त्यही यथार्थको प्रतीक बनेको छ। एक समय श्रम गरेर अरूका घरमा रंग भर्ने मानिस आज आफ्नै जीवनको रंग हराउँदै गएको महसुस गरिरहेका छन्। उनको अनुहारमा पीडाभन्दा बढी एउटा प्रश्न देखिन्छ — “के गरिब र कागजविहीन मानिसले बाँच्ने अधिकार पनि गुमाउँछ ?”
अहिले उनी सहयोगी हातहरूको प्रतीक्षामा छन्। उनीसँग न कुनै ठूलो माग छ, न विलासिताको सपना। केवल उपचार होस्, केही दिन सहजसँग बाँच्न पाऊँ भन्ने चाहना मात्रै छ।
उनको अवस्थाबारे बुझ्न वा सहयोग गर्न चाहने व्यक्तिले छिमेकीमार्फत ९८६९२३०१८१ नम्बरमा सम्पर्क गर्न सक्ने बताइएको छ। लेटाङको त्यो अँध्यारो कोठामा अहिले ईन्द्रबहादुर जीवनसँग अन्तिम संघर्ष गरिरहेका छन्। सायद उनलाई ठूलो चमत्कार चाहिएको छैन — केवल मानवीय साथ, थोरै सहयोग र बाँच्ने आशा मात्रै।












