लेटाङ । मोरङको लेटाङ नगरपालिका–९ जाँतेस्थित श्री वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा ६ दिने व्यक्तित्व विकास, भाषण कला तथा माइनुट लेखन सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ। “हरियो वन, समृद्ध जीवन” भन्ने नारासहित सञ्चालन गरिएको उक्त तालिम २०८३ वैशाख २४ गतेदेखि २६ गतेसम्म आयोजना गरिएको थियो।
स्थानीय संघसंस्था, धार्मिक समूह तथा विद्यार्थी गरी १९ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक के.पी. घिमिरेले व्यक्तित्व विकास, प्रभावकारी भाषण कला, उद्घोषण सीप तथा माइनुट लेखन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूलाई सार्वजनिक रूपमा आत्मविश्वासका साथ बोल्ने तरिका, औपचारिक कार्यक्रम सञ्चालन गर्ने शैली तथा बैठकका निर्णयहरू व्यवस्थित रूपमा अभिलेख गर्ने विधिबारे व्यवहारिक अभ्यास समेत गराइएको थियो।
तालिममा सहभागीहरूले यस्ता कार्यक्रमले आफूहरूको आत्मविश्वास बढाउनुका साथै नेतृत्व क्षमता र सार्वजनिक रूपमा आफ्नो धारणा राख्ने सीपमा सकारात्मक परिवर्तन आएको बताएका छन्।
कार्यक्रममा बोल्दै श्री वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष होमनाथ सुवेदीले उद्घोषण, माइनुट लेखन तथा व्यक्तित्व विकास तालिमले सहभागीहरूको आत्मबल बढाउनुका साथै बोल्ने बानीको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक तथा शैक्षिक विकासका कार्यक्रमलाई समेत प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा लेटाङ–९ का वडा अध्यक्ष नन्दी केशर खतिवडाले सामुदायिक वनले सामाजिक क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताउँदै यस्ता क्षमता विकासमूलक कार्यक्रम अन्य संस्थाका लागि समेत उदाहरणीय बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले स्थानीय तह र सामुदायिक संस्थाबीचको सहकार्यले समाज विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी विशेष अतिथिका रूपमा सहभागी सब डिभिजन वन कार्यालय जाँतेका अधिकृत राजेश घिमिरेले तालिमले पहिले खुलेर बोल्न नसक्ने तथा दबिएर बस्ने व्यक्तिहरूमा समेत आत्मविश्वास बढाएको देखिएको बताउनुभयो। उहाँले विभिन्न जातजाति तथा धार्मिक संस्थाका व्यक्तिहरूलाई समेटेर समावेशी ढंगले कार्यक्रम सञ्चालन गरिएकोमा आयोजकको प्रशंसा गर्नुभयो।
तालिम समापनका अवसरमा सहभागी १९ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै, कार्यक्रममा उपस्थित अतिथिहरूलाई आयोजक संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।
उक्त कार्यक्रम सफल बनाउन आरम्भ पोलिटेक्निकल इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर प्रा.लि., सुन्दरहरैँचा–५, मोरङको प्रत्यक्ष सहयोग रहेको थियो भने कार्यक्रम रेडियो शुसेलीसँगको सहकार्यमा सञ्चालन गरिएको आयोजकले जनाएको छ।










