
लेटाङ, भदौ-८ । लेटाङ नगरपालिका वडा नम्बर–१ कुवापानीस्थित कुवापानी सामुदायिक वन उपभोक्ता समूहमा अध्यक्ष स्वयं अतिक्रमणमा संलग्न भएको गम्भीर आरोप लागेको छ।
समाचार श्रोतका अनुसार, समूहका अध्यक्ष सुक्र बहादुर राईले सामुदायिक वनको केही भाग क्षेत्रफलमा कब्जा गरी अम्लिसो खेती गर्दै आएका छन्। नक्सामा वन क्षेत्रको रूपमा कायम भएको भूभागभित्र उनले साना रुखहरू मासेर केराखेती र विभिन्न बोटबिरुवा लगाएको, साथै टहरा निर्माण गरी कम्पाउण्ड घेरा बारासमेत गरेको बताइएको छ।
उक्त क्षेत्र सामुदायिक वन हस्तान्तरण हुनु अघि नै अम्लिसो खेती गरिएको भए पनि सहमति अनुसार खेती रहेसम्म भोगचलन गर्ने निर्णय भएको थियो तर हाल समुहकै अध्यक्षको सक्रिय संलग्नतामा भइरहेको गतिविधिले उपभोक्तामाझ विवाद चुलिएको छ। श्रोतले भन्यो सवैलाई थाहा छ तर बोल्न कोहि मान्दैनन, समुहको बैठक बस्दा उक्त बिषयबस्तु माथि छलफल भयो तर कार्यनयन भएन।
करिब सात वर्षअघि सब डिभिजन वन कार्यालय लेटाङका प्राविधिकसहितले सामुदायिक वनको नापजाँच गरि सामुदायिक वनक्षेत्रको सिमा निर्धारण गरिएको थियो। सो विवादित भूभाग वन क्षेत्रभित्र २५% अम्लिस्को खेती परेको प्रमाणित भएको थियो।
यस सन्दर्भमा सब डिभिजन वन कार्यालय लेटाङका प्रमुख सत्यनारायण झाले छानबिनका लागि निवेदन परेको जानकारी दिए। भने अतिक्रमण भएको पाइएको खण्डमा प्राविधिक टोली खटाएर पुनः नापजाँच गरी वन ऐन अनुसार सम्लग्न ब्यक्ति माथी कारबाही गर्ने र वन क्षेत्र कायम गरिने उनले बताए।
उपभोक्ता समूहका सदस्यहरूले अध्यक्षकै संलग्नतामा भइरहेको गतिविधिप्रति असन्तोष जनाउँदै निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै केही समय अघि सब डिभिजन वन कार्यालय लेटाङमा निवेदन पेस गरेका थिए । यस बिषयमा बुझ्न कुवापानी सामुदायिक वन समुहका अध्यक्ष राई लाई टेलीफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन।