मोरङ । केरावारी गाउँपालिका–स्थित खदम खोलामा हाल अनियमित उत्खनन भइरहेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्। खोलाको धार नजिकै करिब १०० मिटर दूरीभित्र पर्ने ऐलानी जग्गासमेत उत्खनन भइरहेको छ।

स्थानीयले यसलाई कानुनी मापदण्डको गम्भीर उल्लंघन भएको बताउँदै उत्खनन तत्काल रोक्न माग गरेका छन्। “हामीले पटक–पटक विरोध गर्दा पनि उत्खनन रोकिएको छैन,” एक स्थानीयले बताए, “खोलाको प्राकृतिक स्वरुप नै परिवर्तन हुने खतरा देखिएको छ, तर सम्बन्धित निकाय मौन छ।”

यसैबीच, यस विषयमा बुझ्दा केरावारी गाउँपालिकाका प्रशासनिक अधिकृत जयराम श्रेष्ठले जेठ मसान्तमै खोला बन्द गरिएको बताउदै उनले हाल भइरहेको उत्खननबारे आफू बिदामा भएकाले जानकारी नभएको प्रतिक्रिया दिए।

यता, केरावारी–८ का वडाअध्यक्ष कमल कुमार बस्नेतले “स्टक प्रमाणित भएर ढुङ्गा–गिटी उठाइएको” दाबी गरे। तर स्थानीयले भने वास्तविकता फरक भएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा, स्टक प्रमाणित देखाउने नाममा करिब ५ फिटसम्म खोलाको सतह खनी बालुवा, गिटी र ढुंगा निकासी भइरहेको छ।

अनियन्त्रित उत्खननका कारण बाढी, कटान र पर्यावरणीय संकट बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। साथै ऐलानी जग्गा उत्खनन गरिएको विषयले विवादलाई झनै चर्काएको छ। स्थानीयवासीले तत्काल उत्खनन रोक्न र संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न माग गरेका छन्। तर हालसम्म सम्बन्धित निकायले प्रभावकारी कदम नचालेको उनीहरूको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय