महोत्तरी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी उत्पीडित जनताको असली साथी माओवादी केन्द्र र आफू भएको बताएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिकामा आज भएको आधारभूत स्वास्थ्य केन्द्रहरू उद्घाटनका क्रममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मधेशका जनतालाई मधेश विरोधीहरुले छल गरेर भ्रममा पारिरहेको उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले मधेशी जनताको असली प्रेमिका आफू भएको दावी गर्दै आगामी चुनाव सम्ममा मधेशका जनताले को प्रेमी हो के दुश्मन हो भन्ने कुरा बुझ्ने बताए।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘मधेशी जनतामा रहेको भ्रम चिर्ने प्रयास यसअघि पनि गरेको तर अझै हुन सकेको छैन । मधेशको सच्चा मित्र को हो र सत्रु को हो भन्ने मधेशी जनतालाई अझै बुझाउन सकेको छैन । म प्रधानमन्त्री हुँदा मधेशको एजेण्डा सम्बोधन गर्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गराएको हो । २ चोटी संशोधन प्रस्ताव दर्ता गराएँ ।’
‘एमाले गुट मधेशको र नेपाल राष्ट्र विरोधी हो । सवैभन्दा ठूलो खलनायक हो केपी ओली । मैले दर्ता गरेको संशोधन प्रस्ताव पारित हुन नदिने केपी ओली नै हो । संविधान, राष्ट्र विरोधी र मधेशी विरोधी केपी ओली हो । र त्यो ओलीसँग घुंडा टेकेर सरकारमा जाने महन्थ ठाकुर र राजेन्द्र महतोहरु । अव प्रष्ट भएको छ को मधेशको विरोधी र सहयोगी को हो भन्ने ।’
‘माओवादी केन्द्रनै मधेशी, जनजाती, मुस्लिम, थारु को असली साथी हो । अन्तिम दम सम्म पनि म तपाईहरुका लागि लडिरहन्छु । त्यसैले माओवादीलाई आगामी चुनावमा एक नम्बरको पार्टी बनाउनै पर्छ । के पहाड, के मधेश सवैतिरका गरिवहरु एक भएर लड्यो भने दुनियाँको कुनैपनि शक्तिले हामीलाई हराउन सक्दैन ।’
‘दोश्रो कुरा हामी ठूलो दुर्घटनाबाट बचेर आएका छौं । विशाल कम्युष्टि पार्टी बनाउन, विकासको लहर ल्याउने, नयाँ युगको सुरुवात गर्ने सपना देखेका थियौं । तर एउटा भिलेनले हामीले ७० वर्ष लगाएर लडेर ल्याएको संविधान विघटन गराउने प्रयास गर्यो । नेपालको परिवर्तन उल्ट्याउने षडयन्त्र भएको थियो । तर जनतालाई स्वतन्त्र बनाउन र अधिकारको रक्षा गर्न हामी सडकमा गएका थियौं । सफल भएका छौं । ‘
‘मधेशी जनताको अधिकार अझै प्राप्त भएको छैन । मधेशी जनताको अधिकार सुनिश्चित गर्न मैले संसदमा दर्ता गराएको प्रस्ताव पास गराउन म फेरी पनि लडिरहनेछु ।’










