लेटाङ। “लागू औषध दुर्व्यसन विरुद्ध खेलकुद र फुटबल खेलमैदान निर्माणको अभियान” भन्ने मुख्य उद्देश्यका साथ मोरङको लेटाङ नगरपालिका वडा नम्बर-६ स्थित प्रथम सुकेचौरी खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। आयोजक सुकेचौरी खेलमैदान संरक्षण समितिले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारीबारे जानकारी गराएको हो। सुकेचौरीको गौरव र खेल क्षेत्रको विकासका लागि आयोजना हुन लागेको यस प्रतियोगिताको मुख्य प्रायोजक दरबार ज्वेलरी, युएई (UAE), सह-प्रायोजक लेटाङ नगरपालिका वडा नं. ६ को वडा कार्यालय रहेको छ।
यसैगरी प्रतियोगिताका खेलहरूलाई डिजिटल माध्यमबाट विश्वभर पुर्याउन लेटाङ सेरोफेरो, लेटाङ खबर र मोरङ खबरले प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेका छन्।
प्रतियोगितामा मोरङ र सुनसरीका स्थापित ८ वटा फुटबल क्लबहरूले माघ २८ गते देखि फागुन ६ गते सम्म उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन, जसमध्ये धरान, बेलबारी, केराबारी, मंगलबारे, लेटाङ, ईटहरी, टाँडी, सुकेचौरी (आयोजक) रहेका छन।
उद्देश्य र सामाजिक सन्देश-
आयोजकका अनुसार यो प्रतियोगिता केवल खेल मात्र नभई एउटा सामाजिक अभियान पनि हो। युवाहरूलाई लागू औषधको कुलतबाट टाढा राख्दै स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्न र स्थानीय सुकेचौरी खेलमैदानको निर्माण तथा स्तरउन्नतिका लागि आर्थिक एवं नैतिक समर्थन जुटाउनु यसको प्रमुख लक्ष्य रहेको छ।
“सुकेचौरीको गौरबमा तपाईंको योगदान” भन्ने नाराका साथ आयोजकले सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई उपस्थितिको लागि अपिल गरेको छ। भने यस खेललाई आगमी वर्ष अझ ब्यवस्थित तरिकाले बृहत् रुपमा खेलकुद प्रतियोगिताको आयोजना गर्ने योजना रहेको आयोजकले जनाएको छ।
खेलाडी मगरको बिदाई-
सुकेचौरी फुटबल क्लबमा लामो समयदेखि आबद्ध रही क्लबको प्रगतिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका खेलाडी सामेल मगरलाई एक विशेष कार्यक्रमका बिच बिदाइ गरिएको छ। विगत लामो समयदेखि क्लबको अभिन्न सदस्यका रूपमा रहेका मगर विशेषगरी भेट्रान टोलीका भरपर्दा गोलरक्षक हुन्।
उनले विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबलाई सफलता दिलाउन मुख्य भूमिका खेल्दै आएका थिए। वैदेशिक रोजगारीको सिलसिलामा परदेश जान लागेका मगरलाई सुकेचौरी फुटबल क्लबको कार्यसमितिले खदा ओढाएर सम्मानजनक बिदाइ गरेको हो। कार्यक्रममा क्लबका पदाधिकारीहरूले उनको खेल कौशल र क्लबप्रतिको निष्ठाको प्रशंसा गरेका थिए।










