लेटाङ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि मोरङ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ। यसै क्रममा श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवार बनेकी शान्ती पाख्रीनले आफ्नो चुनावी अभियानलाई आक्रामक रूपमा अगाडि बढाएकी छिन्।

मोरङ-१ कि उम्मेदवार पाख्रीनले आज लेटाङ नगरपालिका वडा नम्बर ७ मा अवस्थित प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थल बरहाजी मन्दिरमा विशेष पूजा–आराधना गरी आफ्नो औपचारिक चुनावी अभियानको सुरुवात गरेकी हुन्।

स्थानीय धार्मिक आस्थाको केन्द्र मानिने बरहाजी मन्दिरमा जितको कामना गर्दै पूजा गरेपछि उनी आफ्ना टोलीसहित जनताको घरदैलोमा निस्किएकी छिन्। चुनाव प्रचारका क्रममा उम्मेदवार पाख्रीनले आफ्नो मुख्य प्राथमिकता आर्थिक समृद्धि र विकास रहेको बताएकी छिन्।

विशेष गरी ओझेलमा परेका ग्रामीण भेगलाई विकासको मूल प्रवाहमा ल्याउने योजना उनले अघि सारेकी छिन्।
घरदैलो कार्यक्रममा मतदाताहरूसँग कुरा गर्दै पाख्रीनले भनिन हाम्रो क्षेत्रको विकास केवल सहर केन्द्रित भएर पुग्दैन। जबसम्म ग्रामीण भेगका नागरिकको जीवनस्तर सुधारिँदैन र त्यहाँ आर्थिक अवसरहरू सिर्जना गरिँदैन, तबसम्म वास्तविक विकास हुँदैन। म यस क्षेत्रको विकासका लागि दृढ संकल्पित छु।”

श्रम संस्कृति पार्टीको टोली अहिले मोरङ–१ का विभिन्न टोल र वस्तीहरूमा पुगेर मत मागिरहेको छ। उम्मेदवार आफैँ जनताको दैलोमा पुगेर समस्या सुन्ने र आफ्ना योजनाहरू सुनाउने कार्यमा व्यस्त छिन्। नयाँ शक्ति र स्पष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिएकी पाख्रीनलाई स्थानीय मतदाताहरूले पनि चासोका साथ हेरेका छन्।

फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा अन्य दलहरूले पनि आफ्नो गतिविधि बढाएका छन्, तर पाख्रीनको ‘ग्राउण्ड लेभल’को सक्रियताले मोरङ–१ मा चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय