मिक्लाजुङ, मोरङ। चन्द्रमुखी मिलिजुली अपाङ्गता समूह मिक्लाजुङ–५ को आयोजनामा ३४ औँ राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित मनाइएको छ । मंगसीर १७ गते आयोजित यस दिवसको अवसरमा मिक्लाजुङ वडा नम्बर ५ का ३० जना अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो सिरक, ब्ल्याङ्केट र झुल वितरण गरिएको छ।
अपाङ्गता शीर्षकका लागि १ लाख विनियोजन
कार्यक्रममा मिक्लाजुङ ५ वडा कार्यालयले अपाङ्गता शीर्षकका लागि आर्थिक वर्ष २०८२/८३ मा रु. १ लाख बजेट विनियोजन गरेको जानकारी गराइयो। यसै रकमको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सभाध्यक्षता जानुका हुमागाईले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष मेघनाथ तामाङले अपाङ्गता भएका व्यक्तिको संरक्षण, प्रवर्द्धन र सीप विकासका लागि वडाले निरन्तर प्राथमिकता दिने बताउनुभयो।
“यसअघि साबुन सरफ बनाउने तालिम सम्पन्न भए पनि जनजीवन उकास्न पर्याप्त नभएकाले अब खदा उत्पादन तालिम सञ्चालन गरिनेछ,” वडाअध्यक्ष तामाङले भन्नुभयो।
उहाँले तालिमबाट उत्पादन हुने खदालाई उचित मूल्याङ्कन गरी वडाले नै खरिद गर्ने योजना रहेको पनि बताउनुभयो। साथै, वडाले ड्राइभिङ तालिम सञ्चालन गर्ने लक्ष्य समेत राखेको छ।
क्षमता प्रस्फुटनमा जोड-
कार्यक्रममा विशिष्ट अतिथि मोरङ जिल्ला अपाङ्गता संघकी अध्यक्ष सोभी यादवले अपाङ्गता भएका व्यक्तिले निराश नबनी आफूभित्रका सीप र क्षमतालाई प्रस्फुटित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले समाज र राज्यले अपाङ्गता भएका व्यक्तिलाई बोझ ठान्ने पुरानो धारणाको अन्त्य गर्नुपर्ने बताउनुभयो। साथै, अपाङ्गता शीर्षकमा छुट्टै बजेट विनियोजन गरेर सम्मान प्रकट गरेकोमा उहाँले मिक्लाजुङ ५ को प्रशंसा गर्नुभयो।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिका महिला विकास शाखाकी कल्पना घिसिङ, वडा सदस्य सुर्य प्रसाद ओझा, वडा सचिव खेमनाथ दगाल, वडा प्राविधिक घनश्याम दाहाल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन मिक्लाजुङ अपाङ्ग संघका उपाध्यक्ष लक्ष्मी प्रसाद घिमिरेले गर्नुभएको थियो।










