लेटाङ, मोरङ — लेटाङ नगरपालिका वडा नम्बर ४ लाई आगामी मंसिर २४ गते आधिकारिक रूपमा बालमैत्री वडा घोषणा गर्नका लागि तयारी तीव्र गतिमा अघि बढिरहेको छ। घोषणाका लागि आवश्यक पूर्वतयारी, समन्वय तथा व्यवस्थापनका विषयमा आज नगरका प्रमुख पदाधिकारी तथा सुरक्षा निकायसहितको समन्वय बैठक सम्पन्न भएको छ।

बैठकमा लेटाङ नगरपालिकाका नगरप्रमुख तथा बालमैत्री स्थानीय शासन नगर समितिका अध्यक्ष भुपेन्द्र कुमार लावती, उपप्रमुख कृष्ण कुमारी निरौला, वडा नम्बर ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका अध्यक्ष आजम्बर काङमाङ, इलाका प्रहरी कार्यालय लेटाङका प्रतिनिधिहरू लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

उपस्थित पदाधिकारीहरूले बालमैत्री वडा घोषणा कार्यक्रम भव्य, मर्यादित र प्रभावकारी बनाउने उद्देश्यले आवश्यक तयारीबारे विस्तृत छलफल गरेका छन्। कार्यक्रमको व्यवस्थापन, सहभागीता, सुरक्षा, अतिथिसत्कार, बालमैत्री गतिविधिहरूको प्रदर्शन तथा वडा–स्तरमा प्राप्त उपलब्धिहरू प्रस्तुत गर्ने विषयमा कार्ययोजना मिलाइएको जनाइएको छ।

राष्ट्रिय लक्ष्यअनुसार २०८७ सम्म सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त बनाउने अभियानअन्तर्गत लेटाङ नगरपालिकाले निरन्तर गतिविधि सञ्चालन गर्दै आएको छ। वडा नम्बर ४ ले नेपाल सरकारले निर्धारण गतेको ५१ वटा बालमैत्री सूचक पूरा गर्दै नगरकै पहिलो पूर्ण बालमैत्री वडा बन्ने तयारी गरेको हो।

स्थानीयवासी तथा सरोकारवाला निकायहरूले यस उपलब्धिले नगरका अन्य वडाहरूलाई पनि प्रेरणा मिल्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय