
मोरङ, जेठ-२९। मोरङको लेटाङ नगरपालिका वडा नम्बर-३ को कीर्तिमान सामुदायिक वन क्षेत्र भित्र अवैध रुपमा कालेपत्रे उद्योग संचालनमा भएको पाईएको छ। निर्माण र मर्मतका लागि अत्यावश्यक मानिने कालोपत्रे (डामर) तयार गर्न प्रयोग गरिने कच्चा पदार्थ जस्तै बिटुमिन, डीजल, तथा अन्य पेट्रोलियम जन्य पदार्थ वातावरण प्रदूषणको मुख्य कारण बन्दै गएको छ।
एसियन हाईवेमा निर्माणाधीन रहेको सडक कालोपत्रे गर्ने प्रायोजनले बेदालय कन्स्ट्रक्सनले डामर उत्पादन गर्ने कार्य गरिरहेको छ। हाईवे कालोपत्रे गर्न आवस्यक कच्चापदार्थलाई प्रसोधन गरेर डामर तयार गर्ने कार्य गरिरहेको उक्त उद्योग ३ वर्ष समयावधिका लागि राखिएको त्यहा कार्यरत एक कर्मचारीले जानकारी दिए।
उद्योगबाट निस्किने बिशालु ज्ञासले वातावरण तथा मानबिय जिवनमा प्रत्यक्ष असर परिरहेको छ। श्वासप्रश्वासमा समस्या र बिषालु ज्ञासका कारण आँखा पोल्ने र हावा दुर्गन्धित भएको कारण स्थानीय नागरिकहरुमा भयानक रोग देखा पर्ने गरेको स्थानीयहरु बताउछन।
उत्पादनदेखि प्रयोगसम्मको सम्पूर्ण प्रक्रियामा यस्ता पदार्थहरूले हावामा विषालु ग्यास र धुवाँ उत्सर्जन गर्छन्, जसले जनस्वास्थ्य र वातावरणमा दीर्घकालीन असर पारिरहेको विज्ञहरूको भनाई छ।
प्रदूषणको स्रोत र असर-
कालोपत्रे निर्माणका लागि प्रयोग हुने बिटुमिन पेट्रोलियम परिष्कृत प्रक्रियाबाट प्राप्त हुने एक प्रकारको कालो, चिप्लो पदार्थ हो। यसको तातो अवस्थामा प्रयोग गर्दा वायुमण्डलमा कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, र बेंजिनजस्ता हानिकारक ग्यासहरू उत्सर्जन हुन्छन्।
यसले मानिसको श्वासप्रश्वास प्रणालीमा असर पार्नुका साथै वातारणीय तापक्रम वृद्धिमा योगदान पुर्याउँछ। सडक निर्माणस्थलमा प्रयोग हुने डामर मिसाउने मेसिनबाट निस्किने धुवाँले स्थानीय बासिन्दालाई एलर्जी, दम, र आँखाको जलनजस्ता समस्या उत्पन्न गराइरहेको छ।
साथै, डामर प्लान्टहरू नदी किनार र जंगल नजिक स्थापना हुँदा त्यहाँको जैविक विविधता र जल स्रोतमा समेत नकारात्मक असर देखिएको छ। प्लान्टहरूको सञ्चालन र भारी मशीनरीको कारण आसपासका क्षेत्रमा अत्यधिक ध्वनि प्रदूषण हुने गरेको छ। बिटुमिनजन्य तरल पदार्थ जमिनमा चुहिएर माटो र भूगर्भीय पानीलाई प्रदूषित पार्ने खतरा उच्च छ।
अनुमति नलिइ संचालनमा-
स्रोतका अनुसार, क्रसर सञ्चालकले न त वन कार्यालयबाट अनुमति लिएका छन्, न त वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) गरेका छन्। जिल्ला समन्वय समिति र नगरपालिका दुवैलाई पटक–पटक निवेदन सहित जानकारी गराउँदा पनि कुनै कदम नचालिएको कीर्तिमान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लक्षमण राईले बताए।
“हामीले उजुरी दिएका थियौं, तर नगरपालिकाले चासो देखाएन,” – कीर्तिमान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राईले भने। हाल उद्योग स्थापना गरिएको क्षेत्रमा गतसाल सामुदायिक वनले ५०० बोट बृक्षरोपण गरेको बोटबिरुवा समेत नष्ट भएको बताए। भने “यो मौनता आफैँमा संलग्नताको संकेत हो।”
स्थानीय सरकार र सरोकारवाला मौन-
पर्यावरण संरक्षण ऐन र खानी तथा खनिज व्यवस्थापन नियमावलीअनुसार संरक्षित क्षेत्रभित्र यस्ता क्रियाकलाप गैरकानुनी मानिन्छन्। तर स्थानीय सरकार, जिल्ला प्रशासन, र वन कार्यालय सबैले चुप्पी साधेका छन्।
यसबारे सोध्दा लेटाङ नगरपालिकाकि उप प्रमुख कृष्ण कुमारी निरौलाले आफ्नो क्षेत्रधिकार भित्र नपर्ने भएकोले सब डिभिजन वन कार्यालय सङ जवाफ माग्न भनेकी थिईन। भने डिभिजन वन कार्यालय लेटाङका अधिकृत सत्यनारायण झाले अनुमती बिना सामुदायिक वन क्षेत्र भित्र कालोपत्रे उद्योग संचालन नगर्न वनलाई सुझाब दिएको भन्दै पन्छिए।