
लेटाङ नगरपालिकाको जंगल क्षेत्रमा लुटपाटका घटनामा वृद्धि भएको छ । एकसाता अघि मात्र लेटाङ कानेपोखरी सडकको जंगल क्षेत्रमा लुटपाट भएको घटना सेलाउन नपाउँदै शनिबार लेटाङ ९ जाँतेबाट पथरी जाने सडकखण्डमा दिउँसै लुटपात भएको छ । जाँते पथरी सडकखण्ड अन्तरगत जंगलको फारलाइन क्षेत्रमा पथरीबाट जाँतेतर्फ आउँदै गरेका लेटाङ ८ का ओम प्रकाश रानामगर लुटपाटमा परेका हुन् ।
पथरीबाट जाँते फर्कने क्रममा फारलाईन आइपुग्दा हतियार सहित ४ जनाको समुहमा रहेका लुटेराहरुले रानामगरलाई लुटपाट गरेका हुन् । उनीहरुले रानामगरसँग रहेको नगद तथा मोबाइल लुटेर लगेको अस्थायी प्रहरी चौकी जाँतेका प्रमुख प्रहरी सहायक निरीक्षक राम कुमार कटुवालले जानकारी दिनुभयो । बाईकमा सवार रानामगरलाई लुटेराको समुहले खुकुरी प्रहार गरेपनी हेल्मेटमा लागेकाले चोट भने लाग्न पाएन ।
गतसाता मात्र लेटाङ कानेपोखरी सडकखण्डमा समेत लुटपाट भएको थियो । सोही दिन केराबारीको जंगलमा समेत लुटपात भएको थियो । लुटपाटका घटनामा लागुऔषध सेवनकर्ताहरु संलग्न भएको हुनसक्ने आशंकामा लेटाङ प्रहरीले पछिल्लो समय लेटाङ क्षेत्रमा विशेष अप्रेसन सञ्चालन गरिरहेको छ । यो खबर मोरङ खबरमा प्रकाशित भएको छ।