काठमाडौ- नेकपा माओवादी ककेन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले नेकपाका महासचिव समेत रहेका नेत्रविक्रम चन्दलाई माओवादी केन्द्रको महासचिव बनाउने तयारी गरेका छन् ।
लामो समयसम्म पार्टी एकताको बहस र छलफलपछि प्रचण्ड विप्लवलाई महासचिव बनाउन राजी भएको माओवादी स्रोतले बताएको छ । मंगलबार गठन भएको समाजवादी मोर्चामा विप्लव सामेल हुनुमा पनि प्रचण्डले महासचिव बनाउने तयारी गरेपछि विप्लव राजी भएको बताईएको छ ।
यसअघि प्रचण्डले क्रान्तिलाई धोका दिएको भन्दै पार्टी फुटाएर अर्को पार्टी गठन गरेका विप्लवले अहिले प्रचण्डकै पथमा आउन, प्रचण्डकै प्रशंसा गरेर बोल्नुले पनि विप्लव प्रचण्डको हित्तचित्त मिलेको अर्थमा हेर्न सकिन्छ । प्रचण्डले आफूपछि उत्तराधिकारीको रुपमा अहिले विप्लवलाई अगाडी बढाउन चाहिरहेका छन् । जनार्दन शर्मा र वर्षमान पुन यसअघि माओवादी केन्द्रको महासचिव बन्न लालायित थिए । तर उनीहरुको आन्तरिक द्वन्द चर्केसँगै प्रचण्डले विकल्पमा पार्टी फुटाएर गएर पछि माओवादीमै फर्किएका देव गुरुङलाई पार्टीका महासचिव बनाएका थिए ।
डा. बाबुराम भट्टराईलाई मोर्चामा सहभागी नगराउनका लागि पार्टीभित्रकै नेताहरुले दबाब दिएपछि प्रचण्डले मोर्चामा सहभागी गराएनन् । अर्कातर्फ बाबुराम आए पार्टीभित्र आफूले भनेजस्तो अवस्था नहुने अवस्था देखेपछि बाबुरालाई पार्टीभित्र ल्याउन प्रचण्ड हिच्किचाएको बताईन्छ ।
पार्टीभित्र विश्वासिलो उत्तराधिकारी नपाईरहेका प्रचण्डले अहिले उत्तराधिकारी बनाउने सोचका साथ विप्लवलाई पार्टीभित्र ल्याउने तयारी गरिरहेका प्रचण्डनिकट स्रोतले बतायो । माओवादीभित्र प्रचण्डले जे बोल्यो त्यही निर्णय हुने गर्दछ ।
माओवादीभित्र प्रचण्डले जे भन्यो त्यही निर्णय र कार्यान्वयन हुने गरेको छ । प्रचण्डले आफ्नो उत्तराधिकारीको रुपमा कृष्णबहादुर महरालाई बनाउन चाहेका थिए । तर उनी विवादमा परेपछि उनलाई अगाडी सार्ने अवस्थामा प्रचण्ड देखिदैनन् ।
अहिले मोर्चा हुँदै पार्टी एकता गर्ने योजनामा प्रचण्ड विप्लव देखिएका छन् । उनीहरुले आन्तरिक रुपमा यसको तयारी गरिसकेको समेत बताईएको छ ।
कोसेली खबर बाट साभार