काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) ले कुनै पनि हालतमा गृह मन्त्रालय नछोड्ने अडान लिएको छ ।

सोमबार र मंगलबार बसेको माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गृह मन्त्रालय माओवादीले नै राख्नु पर्ने सुझाव आएपछि माओवादी केन्द्रले कुनै पनि हालतमा गृह मन्त्रालय नछोड्ने अडान लिएको छ ।

सामान्यतया सरकारको नेतृत्व गर्ने दलले गृह, अर्थ, परारष्ट्र र कानुन लगायतका मन्त्रालय लिने परम्परा रहेको तर सत्ता समिकरण मिलाउन माओवादी केन्द्रले ती मध्ये कुनै पनि मन्त्रालय नलिएको भन्दै अब गृह मन्त्रालय माओवादीले नै राख्नु पर्ने दबाब प्रधानमन्त्री प्रचण्डलाई दिएका छन् ।

बुधवार बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली बीचमा भएको भेटमा पनि गृह मन्त्रालयको विषयमा छलफल भएको थियो । छलफलका क्रममा ओलीले गृह मन्त्रालय रास्वपालाई नै दिनु पर्ने बताएका थिए । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय सरकारको नेतृत्व गरेको दलले नै राख्नु पर्ने सुझाव आएको र गृह सरकारले नेतृत्व गरेको दलले नै लिँदा काम गर्न सहज हुने बताएपछि अध्यक्ष ओली त्यो त हो भन्ने जवाफ फर्काएको बालुवाटार स्रोतले बतायो ।

गृह माओवादी केन्द्रले नै राख्ने भएपछि रास्वपालाई कुनै अर्काे मन्त्रालय दिएर सहमति खोज्नु पर्ने ओलीको भनाई रहेको र गठबन्धन दलका शिर्ष नेताहरुको बैठक बसेर निष्कर्षमा पुग्ने स्रोतको भनाई रहेको छ ।

माओवादी केन्द्रका उपमहासचिव समेत रहेका नेता लीलामणी पोखरेलले सरकारको सफलता र असफलता पनि गृह मन्त्रालयसँगै जोडिने भएका कारण औपचारिक निर्णय नै गरिसकेको भएपनि माओवादी केन्द्रको बटमलाई गृह मन्त्रालय नछोड्ने रहेको बताए । माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि रास्वपालाई तत्काल गृह मन्त्रालय दिन नसकिने बताउँदै आएका छन् ।

त्यस्तै माओवादी केन्द्रका नेता मातृका यादवले पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाएको झोंकमा सरकार छोड्छ भने आफूहरूको भन्नु केही नरहेको बताएका छन् ।

रवि लामिछानेको नागरिकता विवाद मुद्धाको पुरा फैसला नआएसकेको र उनको राहदानी विवादको विषय पनि रहेको कारण फेरी विवादित पात्रलाई नै गृहमन्त्री बनाउन नहुने नेता यादवको भनाई रहेको छ ।

उनले भने, “हामीलाई २ वटा पार्टीबाहेक सबैको समर्थन छ। एउटा पार्टीले सरकार छोड्दैमा फरक पर्दैन ।  अहिलेको परिस्थिति र अवस्थामा रास्वपालाई गृहमन्त्री दिन सकिँदैन। सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म हामीले कुर्नुपर्छ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुलाई नै फेरि गृह मन्त्री बनाउन प्रस्ताव गर्दै प्रधानमन्त्री प्रचण्डलसँग भेटवार्ता गरेका थिए । तर प्रधानमन्त्रीले भने फैसलाको पूर्ण पाठ नआउँदा सम्म गृह मन्त्रालय आफुसँगै राख्ने बताएका थिए । तर माओवादी भित्रको चर्काे दबाब पछि प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय माओवादी केन्द्रसँगै राख्ने मतस्थीतिमा रहेका छन् ।

यता रास्वपाले भने गृह मन्त्रालय आफुहरुको भागमा परेको भन्दै पुनः गृह मन्त्रालय आफुहरुले नपाए सरकार छाड्ने सम्मको चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय