काठमाडौँ । गोरखाको लाप्राकस्थित एकीकृत बस्तीका नागरिकहरूले लालपुर्जा पाएका छन् । ०७२ को भूकम्पपछि गैर आवासीय नेपाली संघले गुप्सीपाखामा घर बनाइदिए पनि उनीहरूले लालपुर्जा पाएका थिएनन् ।

हालसम्म ५५४ घरधुरीले लालपुर्जा पाएका र बाँकीले केही समयभित्र पाउने वडाध्यक्ष किसान गुरुङले जानकारी दिए । उनका अनुसार त्यहाँ ५७३ घर निर्माण भएको छ ।

सरकारी जग्गा मन्त्रिपरिषदबाट निर्णय गरेर घर धनीलाई ०७७ सालबाट लालपुर्जा वितरण गर्न थालिएको हो । पहिलो चरणमा ०७७ सालमा २८० घर धनीलाई लालपुर्जा वितरण गरिएको थियो । दोश्रोपटक पुस ९ देखि १६ गतेसम्म थप लालपुर्जा वितरण गरिएको हो ।

लालपुर्जा वितरणका लागि मालपोतका कर्मचारी लाप्राक नै पुगेका थिए । अब १९ जनाको मात्रै वितरण बाँकी रहेको र अधिकांश विदेश भएकाले रोकिएको पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

उनका अनुसार केही घरधनीको मृत्युसमेत भइसकेको छ । सरकारले प्रत्येक परिवारलाई तीन आना जग्गा वितरण गरेको थियो । सोही जग्गामा एनआरएनएले ४ कोठाको दुईतले घर निर्माण गरिदिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय