डा. मीरा थापाले टेष्ट ट्युब बेबी विधिको ज्ञान तथा सिप सिकेको ९ वर्ष भयो। यो अवधिमा उनी नेतृत्वको चिकित्सकको टिमले अपनाएको टेष्ट ट्युब बेबी विधिमार्फत ९ सयभन्दा बढी बच्चा जन्मिएका छन्।

एक वर्षअघि टेष्ट ट्युब बेबी विधिमार्फत पाको उमेरका श्रीमान्-श्रीमतीको बच्चा जन्मिएको एउटा प्रसंग डा. मीराको मानसपटलमा ताजै छ। दुई वर्षअघि करिब ६५ वर्षका पुरुष र ४० वर्षकी महिला टेष्ट ट्युब बेबी विशेषज्ञ डा. मीराकहाँ पुगे। ती पुरुषले श्रीमतीको मृत्यु भएपछि पुनः ती महिलासँग विवाह गरेका रहेछन्।

पुरुषले भ्यासेक्टोमी गरिसकेका थिए। प्राकृतिक यौन सम्पर्कको माध्यमबाट गर्भधारण सम्भव नभएपछि ती ६५ वर्षीय श्रीमान् र ४० वर्षीय श्रीमती सन्तान जन्माउने चाहना बोकेर डा. मीराकहाँ परामर्शका लागि पुगेका थिए।

डा. मीराले दुवैको स्वास्थ्य परीक्षण गरिन्। पाको उमेर। भासेक्टोमी गरेको अनि शुक्रकीटको मात्रा पनि कम हुँदै गइसकेकाले पुरुषबाट प्राकृतिक यौन सम्पर्कको माध्यमबाट गर्भधारण सम्भव थिएन। त्यसैले स्वास्थ्य परीक्षणपछि पुरुषको अण्डकोशबाट शुक्रकीट निकालेर टेष्ट ट्युब बेबी विधि अपनाई महिलाले गर्भधारण गरेर बच्चा जन्मन सक्ने निष्कर्षमा पुगिन् डा. मीरा।

त्यसपछि उनले त्यो दम्पतीको टेष्ट ट्युब बेबी विधिमार्फत गर्भधारण गराइन्। महिलाको गर्भ सफल भयो। । मीराको चिकित्सकीय मिहिनेत खेर गएन। महिलाले बच्चा जन्माइन्। बच्चा जन्मिएपछि श्रीमान्-श्रीमतीको ओठमा छाएको त्यो मुस्कान सम्झँदा अहिले पनि डा. मीराको मन खुसी हुन्छ। आनन्द लाग्छ।

अहिले पनि त्यो जोडी बेला-बेलामा बच्चा लिएर फलोअपमा आउने गरेको र बच्चा स्वस्थ रहेको डा. मीराले सुनाइन्।

श्रीमान वा श्रीमतीको मृत्यु लगायत विभिन्न कारणले दोस्रो विवाह गरेपछि बच्चा जन्माउने अभिलाशा लिएर डा. मीराकहाँ परामर्शका लागि पुग्नेको संख्या बाक्लै हुन्छ।

हुन त टेष्ट ट्युब बेबी विधिमार्फत सतप्रतिशत बच्चा जन्माउने सपना सफल नहुन सक्छ। डा. मीराका अनुसार ५० देखि ६० प्रतिशत यो विधि सफल हुन्छ। उमेर, विभिन्न रोग लगायतका कारण टेष्ट ट्युब बेबीमार्फत बच्चा जन्माउने सपना असफल हुनसक्छ। टेष्ट ट्युब बेबीमार्फत पनि बच्चा जन्माउन सफल नभएका जोडी निराश भएर फर्कंदा भने उनको पनि मन खल्लो हुन्छ।

टेष्ट ट्युब बेबी विधिलाई चिकित्सकीय भाषामा ‘इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) भनिन्छ।

क्यान्सर भएका युवाको फ्रिजमा विर्य, झिकेर बच्चा जन्माउने योजना

करिब पाँच वर्ष डा. मीराकहाँ पुगेका एक युवाको प्रसंग पनि कम रोचक र मार्मिक छैन।

करिब १५ वर्षको उमेरका युवाको अण्डकोषमा क्यान्सर भएछ। अण्डकोषमा नै शुक्रकीट बन्छ। अण्डकोषको शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी गर्दा ती युवाको  अण्डकोष नै नरहने अवस्था निम्तिएछ। जसले गर्दा उनमा बच्चा जन्माउनका लागि आवश्यक शुक्रकीट नै नरहने भएछ।

पुरुषको यौनांगको क्यान्सरको उपचारमा प्रयोग गरिने किमोथेरापी र रेडियोथेरापी जस्ता उपचारात्मक विधिले शुक्रकीटको मृत्यु हुने डा. मीराले सुनाइन्।

त्यसैले ती युवाको शुक्रकीट झिकेर सुरक्षित राख्न सकिन्छ कि भनेर एक चिकित्सकले डा. मीराकहाँ परामर्शका लागि युवालाई पठाइदिएछन्। अभिभावकले क्यान्सर लागेका युवालाई लिएर उनीकहाँ मीराले युवाको शुक्रकीट तथा विर्यको परीक्षण गरिन्। शुक्रकीट स्वस्थ पाइयो।

शुक्रकीट स्वस्थ भएको थाहा पाएपछि ती युवा र परिवारले विर्य सञ्चित गरेर राखिदिन अनुरोध गरे। त्यसपछि युवाको विर्य निकालेर फ्रिजिङ गरेर राखियो।

त्यसपछि युवालाई क्यान्सरको उपचारका लागि लगियो। उपचारपछि उनको यौनांगमा भएको क्यान्सर अहिले ठिक भइसकेको छ। डा. मीरा को टिमले उनको विर्य फ्रिजिङ गरेर सुरक्षित राखिदिएको करिब पाँच वर्ष भइसकेको छ।

फ्रिजिड गरेर राखिएको विर्य टेष्ट ट्युब विधिमार्फत महिलाको गर्भमा राखेर गर्भधारण गराउन मिल्ने डा. मीराले बताइन्। बेलाबेलामा ती युवा डा. मीराकहाँ परामर्शका लागि पुग्ने गरेका छन्। युवाको यौन सम्पर्क हुनसक्ने भए पनि वीर्य आउने अवस्था भने नभएको उनले सुनाइन्।

ती युवा अहिले करिब २० वर्षका भएका छन्। केही वर्षपछि विवाह गरेर सो सुरक्षित राखिएको विर्यबाट टेष्ट ट्युब बेबी विधि अपनाई बच्चा जन्माउने उनको योजना छ।

क्यान्सरका बिरामीका लागि पनि टेष्ट ट्युब बेबी निकै उपयोगी हुने डा. मीराले सुनाइन्।

पुरुषको यौनांगमा क्यान्सर लागेको खण्डमा यौनांग नै काटेर फाल्नुपर्नेसम्मको अवस्था निम्तन्छ। त्यतिमात्रै हैन, रेडियोथेरापी तथा किमोथेरापी गर्दा पुरुषको शुक्रकीट र महिलाको डिम्बमा क्षति हुन्छ। जसले गर्दा भविष्यमा बच्चा हुने सम्भावना हुँदैन।

त्यस्ता क्यान्सर रोगी पुरुष बिरामीको क्यान्सरको उपचार सुरु हुनुपूर्व नै शुक्रकीट (विर्य) निकालेर फ्रिजिङ गरेर सुरक्षित राख्न सकिने डा. मीरा बताउँछिन्।

उनका अनुसार महिलाको डिम्बासय तथा पाठेघर जस्ता यौनांगको क्यान्सर भएको खण्डमा उपचार गर्नुपूर्व डिम्ब सुरक्षित रुपमा फ्रिजिङ गरेर राख्न सकिन्छ।

विशेषगरी युवा अवस्थामा क्यान्सर लागेका व्यक्तिको शुक्रकीट तथा विर्य फ्रिजिङ गरेर सुरक्षित राखिने गरेको उनले सुनाइन्। डा. मीराका अनुसार शुक्रकीट र डिम्ब २० वर्षभन्दा बढी राख्न मिल्छ।

यसरी सुरक्षित राखिएको शुक्रकीट र डिम्बबाट व्यक्तिले उपचारपछि ठिक भएर गर्भधारण गरी बच्चा जन्माउन सकिने उनी बताउँछिन्।

१९ वर्षे युवाको विर्य सञ्चित
पोखराका एक युवाको पनि दुई वर्षअघि अण्डासयमा भेरिकोसिल नामक रोग लागेको पत्ता लागेछ। त्यसपछि ती युवाको अण्डासयको शल्यक्रिया नै गर्नुपर्ने भएछ। शल्यक्रिया गर्दा शुक्रकीट नरहने अवस्था निम्तियो। त्यसपछि उनी डा. मीराकहाँ पुगे।

ती युवाको चाहना थियो, आफ्नो शुक्रकीट  भिकेर राखेर आफू ठिक भएपछि विवाह गरी टेष्ट ट्युब बेबी विधिमार्फत बच्चा जन्माउने।

उनको चाहना अनुरुप डा. मीराको टिमले क्रायु प्रिजरभेसन विधिमार्फत वीर्य फ्रिजिड गरेर राखिदिएका छन्। विर्य सुरक्षित छ।

युवा उपचारपछि ठिक भइसकेका छन्। बेला–बेलामा आएर विर्यको स्थितिबारे बुझ्छन्। उनी अहिले १९ वर्षका भएका छन्।

यसरी शुक्रकिट तथा विर्य र डिम्ब सुरक्षित राखिने विधिलाई चिकित्सकीय भाषामा ‘क्रायु प्रिजरभेसन’ भनिन्छ।

गर्मीमा काम गर्दा शुक्रकीटकै मृत्यु भएपछि…. 
अरेबियन मुलुकमा वैदेशिक रोजगारीका लागि गएर फर्केका धेरै पुरुषहरु निसन्तानको समस्या लिएर डा. मीराकहाँ पुग्ने गरेका छन्। गर्मी तथा तापक्रमका कारण शुक्रकीटको मात्रा नै कम भएर निसन्तानको समस्या देखिएको उनले सुनाइन्।

पाँच वर्षअघि वैदेशिक रोजगारिको सिलसिलामा ४/५ वर्ष साउदी अरेबियामा काम गरेर फर्केका युवाको प्रसंग डा. मीराका मनमा गढेको छ। निसन्तानको समस्या भएपछि बच्चा जन्माउने चिकित्सकीय उपायको खोजीमा करिब ३५ वर्षीय विवाहित पुरुष परामर्शका लागि डा. मीराकहाँ पुगेका रहेछन्। उनी खानीमा काम गरेर फर्केका रहेछन्।

डा. मीराले ती पुरुषको स्वास्थ्य परीक्षण गरिन्। तर स्वास्थ्य परीक्षणको क्रममा उनको शुक्रकीटकै मृत्यु भइसकेको थाहा भयो। साउदी अरबको अत्यधिक गर्मी र खानीको रासायनिक तत्वका कारण ती पुरुषको शुक्रकीटको मृत्यु भइसकेको रहेछ। शुक्रकीट थिएन। भएका पनि असामान्य अवस्थामा थिए। जुन शुक्रकीट गर्भधारणका लागि योग्य थिएनन्।

शुक्रकीटानै नभएकाले ती पुरुषले आफ्नो शुक्रकीटबाट बच्चा जन्माउने सपना साकार हुन नसकेको उनले सुनाइन्।

त्यसैगरी  करिब तीन वर्षअघि अरेबियन मुलुकमा नै काम गरेर फर्किएका अर्का पुरुष पनि निसन्तानको समस्या भएर डा. मीराकहाँ पुगेका थिए। करिब ३२ वर्षका ती पुरुष अरेबियन मुलुकमा करिब पाँच वर्ष काम गरेर फर्किएका रहेछन्। उनको काम बाहिरी वातावरणमा परेको रहेछ।

डा. मीराले उनको स्वास्थ्य परीक्षण गरिन्। तर गर्मी ठाउँमा काम गरेकाले गर्दा शुक्रकीटको मात्रा नै अत्यन्तै कम भइसकेको थियो। त्यसपछि भने टेष्ट ट्युब बेबी विधिमार्फत बच्चा जन्माउन सफल भएको उनले सुनाइन्।

गर्मी ठाउँमा काम गर्ने अनि विभिन्न किसिमका ‘इनर्जी ड्रिङ्क’ पिउने जस्ता कारण शुक्रकीटको मात्रा र गुणस्तरमा कमी आएको उनी बताउँछिन्।

छोराले आत्महत्या गरेपछि गर्भधारण गर्न पुगेको त्यो जोडी
करिब पाँच वर्ष अघिे टेष्ट ट्युब बेबीमार्फत गर्भधारण गराएको एउटा प्रसंगले डा. मीराको मन छोएको छ।

करिब ४५ वर्षका श्रीमान् र ४० वर्षकी श्रीमती डा. मीराकहाँ पुगे। उनीहरुका एक छोरा र एक छोरी थिए। तर छोराले एसएलसी पास गरेपछि आत्महत्या गरेछन्।

छोराले आत्महत्या गरेपछि विरक्तिएर एउटा सन्तान जन्माउने चाहनाले उनीहरु डा. मीराकहाँ पुगेका रहेछन्। श्रीमतीले स्थायी बन्ध्याकरण गरिसकेकी थिइन्।

स्वास्थ्य परीक्षण गरेपछि डा. मीरा टेष्ट ट्युब बेबी विधिमार्फत गर्भधारण गराउन सकिने निष्कर्षमा पुगिन्। श्रीमानको शुक्रकीट र श्रीमतीको डिम्ब निकालेर चिकित्सकीय विधि तथा प्रक्रिया अपनाई शुक्रकीट र डिम्बको निशेचन गराइन्। प्रयोगशालामा भ्रुण बनाइयो। त्यसपछि सो भ्रुणलाई महिलाको गर्भमा राखी गर्भधारण गराइयो। नभन्दै यो विधिमार्फत पहिलो पटकमा नै महिला गर्भधारण गर्न सफल भइन्।

बच्चा जन्मिएपछि छोराले गरेको आत्महत्याको पीडालाई भुल्ने प्रयास गर्दै त्यो जोडीको ओठमा आएको त्यो मुस्कान अहिले पनि डा. मीरालाई याद छ। त्यसो त ती श्रीमान्–श्रीमतीले अहिले पनि बच्चालाई फलोअपमा लिएर आउने गरेको उनले सुनाइन्। अहिले टेष्ट ट्युब बेबी विधि अपनाई जन्मिएका ती बच्चा स्वस्थ रहेको डा. मीराले बताइन्।

युवा अवस्थामा राखेको विर्य र डिम्बबाट भविष्यमा गर्भधारण
डा. मीराकहाँ टेष्ट ट्युब बेबी विधिमार्फत बच्चा जन्माउन पुग्नेमध्ये चिकित्सक, पाइलट, इन्जिनियर, व्यवसायि, जस्ता बढी व्यस्त हुने पेसा अपनाएका व्यक्तिको संख्या बढी नै छ।

पाको उमेर, बन्ध्याकरण गरेका जस्ता विभिन्न कारण बच्चा जन्माउने चाहना भएका व्यक्ति उनीकहाँ पुग्ने गरेका छन्।

विशेषगरी ढिला विवाह गर्ने महिलाका लागि डिम्ब फ्रिजिड गरेर सुरक्षित गरेर राखिदिने प्रविधि पनि भएको उनले सुनाइन्। त्यसरी राखिएको डिम्ब महिलाले गर्भधारण गर्न चाहेको समयमा चिकित्सकीय प्रक्रिया पूरा गरेर गर्भधारण गराउँछिन् उनी। डा. मीराले सुनाइन्, ‘ढिलो विवाह गर्न चाहने महिलाको लागि युवा अवस्थामा नै डिम्ब सुरक्षित गरेर राखिन्छ। सुरक्षित राखेको डिम्बमार्फत गर्भधारण गर्न सकिन्छ।’

यसरी डिम्ब सुरक्षित गरेर राख्ने महिलाको संख्या दिनदिनै बढिरहेको डा. मीराले सुनाइन्।

विदेशमा बस्ने धेरै नेपाली समेत टेष्ट ट्युब बेबीमार्फत बच्चा जन्माउने प्रक्रियाका लागि डा. मीराकहाँ पुग्ने गरेका छन्। त्यति मात्रै हैन, विभिन्न काम तथा पेसाको सिलसिलामा नेपालमा बसेका विदेशीहरु समेत टेष्ट ट्युब बेबी विधिमार्फत बच्चा जन्माउने प्रक्रियाका लागि डा. मीराकहाँ पुग्छन्।

पुरुष र महिला दुवैमा निसन्तान सम्बन्धी समस्या बराबरजसो हुने गरेको उनले सुनाइन्। निसन्तानको समस्याका कारण कयौं व्यक्ति मानसिक रुपमा तनावमा परेको उनले नजिकबाट देखेकी छन्।

डा. मीराले चिने-जानेकै ढिलो विवाह गरेका पुरुष चिकित्सकको निसन्तानको समस्या भएको प्रसंग पनि उनले सुनाइन्। ती चिकित्सकको उमेर करिब ३७ वर्ष थियो भने उनकी श्रीमतीको उमेर ३४ थियो। दुवैमा निसन्तानको समस्या भएछ। महिलाको डिम्ब नबन्ने र नफुट्ने समस्या थियो। पुरुषको भने शुक्रकीटको गुणस्तर र संख्यामा कमी थियो।

पाँच वर्षअघि ती पुरुष चिकित्सकले डा. मीरासँग परामर्श लिए। उनले ती चिकित्सक दम्पतीको स्वास्थ्य जाँच गरिन्। स्वास्थ्य जाँचपछि बच्चा जन्माउनका लागि टेष्ट ट्युब बेबी विधि नै अपनाउनुपर्ने अवस्था निम्तियो। र, उनीहरुको टेष्ट ट्युब बेबीमार्फत बच्चा जन्मियो।

जन्म चितवन
चितवनको भरतपुरमा जन्मिएकी मीराले स्थानीय ‘हिलवर्ड सेकेण्डरी स्कुल’बाट २०५२ मा एसएलसी गरिन् र चितवनकै ‘चितवन साइन्स कलेज’बाट प्लस टु गरिन्।

उनले चितवनकै ‘कलेज अफ मेडिकल साइन्सेस’मा एमबीबीएस अध्ययन गरिन्। सन् १९९८ मा भर्ना भएकी उनको एमबीबीएस अध्ययन सन् २००४ मा पूरा भयो।

एमबीबीएस अध्ययनपछि आफू अध्ययन गरेकै मेडिकल कलेजमा एक वर्ष मेडिकल अधिकृतका रुपमा काम गरिन्। त्यहाँ उनले स्त्री तथा प्रसूति रोग विभागमा नै काम गरिन्। त्यसपछि काठमाडौं आएर एक वर्ष हिमाल अस्पतालमा काम गरिन्। दुई वर्षको जागिर अनुभव बटुलिन्।

त्यसपछि मीराले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्यययन संस्थान (महाराजगञ्ज क्याम्पस) मा सन् २००६ मा स्नातकोत्तर तहको स्त्री तथा प्रसूति रोग विषयमा एमडीएमएस अध्ययन थालिन्। सन् २००९ अध्ययन पूरा भयो।

त्यही बीचमा उनले रविनबहादुर बस्नेतसँग प्रेम विवाह गरिन्। रविन पनि चिकित्सक हुन्। उनीहरुका ११ वर्षकी छोरी र चार वर्षका छोरा छन्।

एमडीएमएस अध्ययन पूरा हुनासाथ डा. मीराले सन् २००९ मा नै निजामती कर्मचारी (सिभिल) अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञका रुपमा काम गर्न थालिन्। जतिबेल सिभिल अस्पताल भर्खर सञ्चालनमा आएको थियो। त्यहाँ उनले सन् २०१३ सम्म करिब साढे तीन वर्ष काम गरिन्।

एमडी अध्ययनकै क्रममा उनलाई निःसन्तान सम्बन्धी विषयमा विशेष चासो लाग्थ्यो। यही विषयप्रति उनको ध्यान बढी जान्थ्यो।

टेष्ट ट्युब बेबी विषयमा क्रेज
डा. मीराले सिभिल अस्पतालको जागिर छाडेर भारत पुगेर ‘इनभिट्रो फर्टिलाईजेशन (आइभिएफ)’ सम्बन्धी तालिम लिइन्। ‘ग्रान्ट मेडिकल फाउण्डेसन–रुबी हल क्लिनिक’मा आइभिएफ सम्बन्धी ज्ञान तथा सीप सिकिन्।

त्यसपछि नेपाल फर्किएर डा. ज्ञानेन्द्रमान सिंह कार्की र डा. रश्मी श्रीष लगायतको टिमको सहकार्यमा उनले सन् २०१४ मा टेस्ट ट्युब बेबी (आइभिएफ) सेन्टर सुरु गरिन्। आइभिएफ सेवा दिने संस्थाको नाम ‘नेपाल इन्टरनेसनल फर्टिलिटी एण्ड ल्याप्रोस्कोपिक सेन्टर (माया आइभीएफ क्लिनिक)’ राखियो।

आठ वर्ष यता डा. मीरा विशेषगरी टेष्ट ट्युब बेबी (आइभिएफ) मार्फत निःसन्तान भएका व्यक्तिलाई गर्भधारण गराउने प्रयत्नमा व्यस्त हुन्छिन्।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ र कस्मेटिक गाइनेक्लोजी विशेषज्ञ समेत हुन् उनी। त्यसैले प्रसूति सम्बन्धी रोग र महिलाको यौनजन्य समस्या समाधानका लागि खोज-पड्ताल तथा समाधानमा उनी तल्लिन हुन्छिन्। दुबई र इजरायल पुगी कस्मेटिक गाइनोकोलोजी सम्बन्धी तालिम लिएकी छन् डा. मीराले। कस्मेटिक गाइनोक्लोजी विधालाई पनि नयाँ चिकित्सकीय विधाको रुपमा स्थापित गर्ने उनको लक्ष छ।
यति मात्रै हैन युरोप लगायत विभिन्न मुलुक पुगेर उनले निसन्तान सम्बन्धि विभिन्न तालिम लिई ज्ञान तथा सीपको थप विकास गर्ने क्रम जारी नै छ।

भ्रुणबाटै वंशाणु रोग छ कि छैन भन्ने परीक्षण पनि गरिने गरेको उनले सुनाइन्। ३५ वर्षभन्दा बढी उमेर समूहमा गर्भधारण गर्दा जन्मने बच्चामा वंशाणु रोगको जोखिम बढी हुने उनको भनाइ छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय