काठमाडौं । मन्त्रालय बाँडफाँडमा सत्तारुढ गठबन्धनभित्र मोटामोटी सहमति बनेको छ । मंगलबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रालय भागवण्डाबारे सहमति बनेको हो ।
अब दलहरुले आन्तरिक हिसाबले मन्त्रीको छनौट गरेसँगै मन्त्रिपरिषद् विस्तार हुने गठबन्धनका एक नेताले जानकारी दिएका छन् । बताइएअनुसार पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने सहमति पनि बनेको छ ।
मंगलबार बालुवाटारमा भएको छलफलमा सत्तारुढ गठबन्धनका चार दलकै शीर्ष नेता उपस्थित थिए । छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।