असोज १८ , काठमाडौँ :- भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले राजधानीमा बस तेर्स्याएर आन्दोलन गरेका छन्।
महानगरीय ट्राफिक महाशाखाका अनुसार रिङरोडभरि ५ सय वटा बस तेर्स्याइएका छन्।
भाडा बढाउनुपर्ने माग राखेर यातायात व्यवसायीले सडकमा बस तेर्स्याई चाबी लिएर हिँडेका छन्।
‘चाबी लिएर गएका छन्, यतिका बस हटाउन सम्भव नै छैन,’ ट्राफिक महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले भने, ‘यातायात कार्यालयमा वार्ता भइरहेको छ।’
कार्यालय समयमा व्यवसायीले सडकमा बस तेर्स्याएपछि यात्रुलाई सास्ती भएको छ भने काठमाडौं उपत्यकाको सवारी अस्तव्यस्त बनेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पटक-पटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि बागमती प्रदेश सरकारले वास्ता नगरेपछि व्यवसायीहरू आक्रोशित बनेको बताए।
संघीय सरकारले गत असारमै भाडा समायोजनको निर्णय गरे पनि बागमती प्रदेश सरकारले लागु नगरेकाले व्यवसायी मर्कामा परेको उनले बताए।
‘हामीले कैयौं पटक भेटेर यो निर्णय छिटो लागु गरिदिनुस् भन्यौं तर उहाँहरूले सुन्नु भएन। केही उपाय नलागेपछि व्यवसायी साथीहरूले स्वत: स्फुर्त रूपमा गाडी तेर्स्याउनु भएको हो,’ सिटौलाले भने,‘महासंघले कुनै औपचारिक आन्दोलन घोषणा गरेको छैन।’
पहिलेको भन्दा अहिले पेट्रोलियम पदार्थको मूल्य निकै बढेकाले पहिलाकै भाडामा अहिले गाडी चलाउन नसकिने महासचिव सिटौलाले बताए।
‘जनतालाई सास्ती दिने हाम्रो मन होइन तर संघीय सरकारले गरेको निर्णय प्रदेश सरकारले कार्यान्वयन नगर्दा हामीलाई ठूलो मार परेको छ,’ सिटौलाले भने।