नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच सवाल जवाफ भएको छ । अध्यक्ष ओली र नेताहरुबीच सवाल जवाफको मुद्दा बनेको हो–१० बुँदे एकता प्रस्ताव कार्यान्वयन र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिको विषय ।
बैठकमा सहभागी एक नेताका अनुसार शुक्रबारको बैठकमा सुदूरपश्चिमका नेता तथा उपाध्यक्ष भीम रावल, नेताहरू झपट रावल र भानुभक्त जोशीले १० बुँदे एमाले एकता प्रस्ताव र त्यही अनुसार अध्यक्षले पठाएको अपानि (अन्तर पार्टी निर्देशन) कार्यान्वयन नभएको र मनोमानी ढङ्गले पार्टी गतिविधि भइरहेको भन्दै सहमति कार्यान्वयनका लागि अध्यक्षले अर्को सर्कुलर पठाउनुपर्ने र सो विषय बैठकको एजेण्डा बन्नुपर्ने बताएका थिए ।
बैठकमा केही नेताहरूले १० बुँदे सहमति र विधान महाधिवेशनका प्रतिनिधि छनोटबारे प्रश्न उठाएपछि तेस्रो धारका अन्य नेताहरूले पनि उनीहरूको मागमा सहमति जनाएका थिए ।
एकता प्रस्ताव भन्दै गत असार २८ गते एमालेका १० नेता रहेको कार्यदलले १० बुँदे प्रस्ताव अघि सारेको थियो । जसमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील बनाउनुपर्ने मूल आशय थियो । तर, उक्त प्रस्ताव कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिम, बागमती र प्रदेश १ मा एमालेको झगडा चर्किँदै गएको छ ।
तर, अध्यक्ष ओलीले तेस्रो धारका नेताहरूको माग ठाडै अस्वीकार गरे । ‘यो बैठकका एजेण्डा फरक छन् । विधान महाधिवेशनसँग सम्बन्धित एजेण्डा भएकाले यससँग केन्द्रित रहेर मात्रै छलफल हुन्छ’, अध्यक्ष ओलीको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरुको यो माग यो बैठकको एजेण्डा नै बन्न सक्दैन ।’