काठमाडौं, ५ असोज- एमालेका अध्यक्ष केपी ओलीले ७२ दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुँदा देशको महत्वपूर्ण समय खेर गएको टिप्पणी गरेका छन् ।
श्वेतशार्दूल पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धनमा संविधानले तोकेको २५ जनाको सीमाभित्र अटाउन समस्या भएको टिप्पणी गरे ।
‘शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकारमा रंगीविरंगी मान्छे छन्,’ प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै ओलीले भने, ‘उहाँहरू अझै मन्त्रिपरिषद् संख्या बढाउन प्रयास गर्दैछन् । पहिलाजस्तो ६५/६७ बनाउन सक्दैनन् । मिल्ने भए त भ्यागुता फुलाए भन्दा फुलाउदै जानुहुन्थ्यो । अहिले संविधानले दिँदैन । अहिले २५ मा अटाउन उहाँलाई समस्या भइरहेको छ । त्यहीँ कारण हो अहिलेको तमासा ।’
सवा वर्ष कार्यकाल रहेको सरकारले पद र भागबन्डामै २० प्रतिशत समय खेर फालेको उनको भनाइ थियो । ‘कार्यकाल सवा वर्ष छ । २० प्रतिशत भाग यसै गयो । खाली पदको चिन्ता । देशको समय बर्बाद भयो,’ उनले भने ।