सङ्खुवासभाः सङ्खुवासभामा सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ।
मादी नगरपालिका–१ उम्लिङ खोला गाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा सोही ठाउँका लोकबहादुर कार्कीलाई आज प्रहरीले चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो।
हत्या आरोपी २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् । प्रदेश नं १ का प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो .सिआइबी) लगायतको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको थियो ।
गत सोमबार मादी –१ उम्लिङ खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । हत्यामा प्रयोग भएको रड भेटिएपछि लोकबहादुर शङ्काको घेरामा थिए । सोही आधारमा अनुसन्धान अगाडि बढाउदा लोकबहादुरको घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका लोकबहादुरले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ। व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जनाएको छ।