लेटाङ । लेटाङ नगरपालिकामा धार्मिक सहिष्णुता, आपसी सम्मान र सामाजिक एकताको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको अन्तरधार्मिक शान्ति पार्क औपचारिक रूपमा उद्घाटन गरिएको छ। लामो समयदेखि सञ्चालनमा रहेको शान्ति अभियानलाई मूर्त रूप दिँदै निर्माण गरिएको यो पार्क अब लेटाङको पहिचानसँगै राष्ट्रियस्तरमै उदाहरणीय संरचना बन्ने अपेक्षा गरिएको छ।
नेपालमा द्वन्द्वपछिको अवस्थालाई मध्यनजर गर्दै सुरु गरिएको शान्ति अभियानको निरन्तरताका रूपमा वि.सं. २०६२ सालदेखि विभिन्न समुदायबीच संवाद, सहकार्य र मेलमिलाप बढाउने प्रयास हुँदै आएको थियो। सोही अभियानको परिणामस्वरूप यो अन्तरधार्मिक शान्ति पार्क निर्माण सम्पन्न भएको हो।
पाँच धर्म एकै थलोमा- अन्तर धार्मिक शान्ति पार्कमा हिन्दु, बौद्ध, किराँत, इसाई र इस्लाम धर्मलाई एकै स्थानमा समेटिएको छ। यहाँ प्रत्येक धर्मावलम्बीले आफ्नो आस्था अनुसार पूजा–आराधना गर्न सक्ने व्यवस्था गरिएको छ, जसले धार्मिक विविधताबीच एकता र सहिष्णुताको सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।
कडा आचारसंहिता- पार्कलाई शान्ति र सद्भावको केन्द्रका रूपमा सुरक्षित राख्न मदिरा सेवन, धूम्रपान, राजनीतिक गतिविधि, धार्मिक प्रचारप्रसार, चर्को आवाज लगायतका गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ। कुनै पनि कार्यक्रम सञ्चालन गर्न व्यवस्थापन समितिको पूर्वअनुमति अनिवार्य गरिएको छ।
भव्य उद्घाटन कार्यक्रम- पार्कको उद्घाटन एक विशेष समारोहबीच सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व सांसद हर्कमान तामाङ, विशिष्ट अतिथिका रूपमा नेकपा एमाले कोशी प्रदेश अध्यक्ष तथा पूर्व सांसद घनश्याम खतिवडाको उपस्थिति रहेको थियो।
त्यस्तै अतिथिहरूमा बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राई, पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्बापो, विभिन्न वडाका अध्यक्षहरू तथा धार्मिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावतीले गर्नुभएको थियो। भने स्वागत मन्तव्य नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले व्यक्त गरेकी थिइन्। कार्यक्रममा सहभागी सबै धर्मका अगुवाहरूले आ–आफ्नो धर्मबारे प्रवचन दिँदै धार्मिक सहिष्णुता र सद्भावको महत्वबारे प्रकाश पारेका थिए।
निर्माणप्रति सम्मानको घोषणा- कार्यक्रममा बोल्दै नगर प्रमुख लावतीले धार्मिक सहिष्णुता र एकताको संदेश दिने अभियान लेटाङबाट शुरु भएको बताउनुभयो, छुटेका धर्मकाको स्थान बारे समेत निर्णय हुने र कार्यनयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।यसैगरी निर्माण सम्झौता अघि नै योजना तयार गरिएको उल्लेख गर्दै निर्माण कार्यमा संलग्न कम्पनीलाई सम्मान गर्ने घोषणा गरे। उनले शान्ति, एकता र सहअस्तित्वलाई मजबुत बनाउन यस्ता संरचनाहरू अत्यन्त महत्वपूर्ण हुने बताए।
भविष्यको सम्भावना- यो अन्तरधार्मिक शान्ति पार्कले भविष्यमा धार्मिक पर्यटन, सामाजिक सद्भाव र शान्ति शिक्षाको केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ। बहुधार्मिक र बहुसांस्कृतिक समाजमा एकताको उदाहरण प्रस्तुत गर्ने यो पार्क अब लेटाङको मात्र नभई देशकै गौरवको विषय बन्ने विश्वास गरिएको छ। समग्रमा, लेटाङमा निर्माण सम्पन्न भएको यो पार्क केवल भौतिक संरचना नभई शान्ति, सहिष्णुता र सहअस्तित्वको जिवन्त प्रतीकका रूपमा स्थापित भएको छ।










