धरान, सुनसरी — किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आगामी माघ ३ गते आयोजना हुने भएको छ। आयोजक समितिका अनुसार अधिवेशन धरान उपमहानगरपालिका–स्थित चुम्लुङ हिममा बिहान ११ बजेदेखि सुरु हुनेछ।
अधिवेशनलाई भव्य र सांस्कृतिक रूपमा सम्पन्न गर्ने तयारी गरिएको आयोजक समितिले जनाएको छ। अधिवेशनको उद्घाटन तथा विभिन्न सत्रहरूमा जातीय नृत्यसहित लिम्बू समुदायको पहिचान झल्काउने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। यसले लिम्बू समुदायको भाषा, संस्कृति र पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
तेस्रो अधिवेशनको मुख्य एजेन्डाका रूपमा हालको कोशी प्रदेश नामको विरोध गर्दै लिम्बुवान प्रदेश स्थापना गर्नुपर्ने मागलाई अघि सारिएको छ। किरात याक्थुङ चुम्लुङले प्रदेश पुनर्संरचनाका क्रममा ऐतिहासिक पहिचान, भूगोल र मौलिक अधिकारलाई बेवास्ता गरिएको भन्दै कोशी प्रदेश नामप्रति विगतदेखि नै असहमति जनाउँदै आएको छ।
आयोजक समितिका अनुसार लिम्बू समुदायको ऐतिहासिक भूमि र पहिचानसँग जोडिएको लिम्बुवान नामलाई राज्यले स्वीकार गर्नुपर्ने माग अधिवेशनबाट पुनः जोडदार रूपमा उठाइनेछ। यसका साथै, प्रदेश नामकरणसँग सम्बन्धित आन्दोलनलाई थप सशक्त बनाउने रणनीति, भावी कार्यक्रम र संगठनात्मक सुदृढीकरणका विषयमा पनि अधिवेशनमा विस्तृत छलफल हुने बताइएको छ।
अधिवेशनमा प्रदेश समितिका पदाधिकारी, प्रतिनिधि, सदस्यहरू तथा लिम्बू समुदायका अगुवा व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजक समितिले लिम्बू समुदायका साथै पहिचान पक्षधर सम्पूर्ण संघसंस्था र नागरिकलाई अधिवेशनमा सहभागी भई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।
तेस्रो अधिवेशनले लिम्बुवान प्रदेशको मागलाई राष्ट्रिय तहमा पुनः उजागर गर्दै समुदायको अधिकार, पहिचान र आत्मसम्मानका लागि महत्वपूर्ण निर्णयहरू गर्ने विश्वास लिइएको छ।










