
देशमा पटक–पटक सरकार फेरिए, व्यवस्था फेरिए, तर जनताको अवस्था जस्ताको तस्तै छ। कालो धन शुद्धीकरण हुने, भ्रष्टाचार नियन्त्रण हुने, बेरोजगारी अन्त्य हुने, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता आधारभूत विषयमा आमूल परिवर्तन आउने भनेर दिएको सपना अझै पनि सपनामै सिमित छ। ‘हामी देश बनाउँछौं’ भन्ने नेताहरू, ए मूर्ख नेता हो! देश के तिमीहरूले कोदालोले खनेर बनाउने हो र? भाषण ठोकेर, गफ हानेर बन्ने हो? देश बनाउने सपना देखाउनेहरूले नै आज देशलाई खरानी बनाइरहेका छन्। जनता दिनहुँ ठगिँदै छन्, शोषित हुँदै छन्, र अन्ततः वाक्कदिक्क भइसकेका छन्।
तिनै पुराना अनुहार, तिनै चाल, तिनै झूठा भाषण बदलिएको के छ र? अनुहार त बदलिएको छैन, नियत त झन् उस्तै छ। जनताले विकल्प खोज्न नपाउने नियति बनाइएको छ। जनताले तिनै अनुहारलाई बारम्बार सहनुपर्ने बाध्यता बनेको छ। पार्टीभित्रै असल, भिजन भएका, पढेलेखेका, निष्ठावान युवा नेताहरू छन्, तर बिडम्बना—तिनीहरूलाई कहिल्यै अघि ल्याइँदैन।
किनकि पार्टी चलाउनेहरूलाई डर छ—कहीँ ती योग्यहरू अघि सरे भने आफ्ना कुर्सी गुम्छ कि भन्ने। आज म जस्ता हजारौं, लाखौं युवाहरू देशमा केही गरौं भन्ने सपना बोकेर हिँडेका छौँ ।, तर बाध्यता र परिस्थितिले गर्दा बिदेशिनु पर्ने अवस्था छ। आफ्नै देशमा इमानदारीपूर्वक केही गर्न सकिन्छ कि भनेर प्रयास गर्दा गर्दा जब सिसा जस्तै सपनाहरू फुट्छन्, तब विदेशी भूमिमा पसिना बगाउने विकल्प मात्र बाँकी रहन्छ।
वर्तमान अवस्था हेर्दा सरकारमा बस्नेहरू जनताको दुःख, पिडा, र भविष्यप्रति गम्भीर छन् जस्तो देखिदैन। उनीहरूको प्राथमिकता दलाल र ठेकेदारप्रति बढी देखिन्छ। ‘कमिसनको’ राजनीतिले शासन संयन्त्र कुहिएको छ। ठूलाठूला योजना पास गर्दा ‘किक ब्याक’ कति मिल्छ भनेर मूल्यांकन हुन्छ। शिक्षा बेचिन्छ, स्वास्थ्य सेवामा लुट हुन्छ, न्याय पैसा अनुसार पाइन्छ यस्तो राष्ट्र कसरी बनोस?
त्यही भएर त हामी जस्ता युवाहरू, जसले यो देशलाई माया गर्छौं, जसले आफ्नै माटोमा केही गर्न चाहन्छौं, बाध्य भएर विदेशिनुपर्छ। यहाँ न त सुरक्षाको भर छ, न त सम्भावनाको ग्यारेन्टी। जब देशभित्रको व्यवस्था नै अस्थिर, असमान, र भ्रष्ट हुन्छ, तब सच्चा देशप्रेमीहरू निराश हुन्छन्। हिजोका दिनहरू सम्झन्छु, जब मुलुकमा ठूलाठूला उद्योगहरू थिए । वीरगन्ज चिनी मिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बालाजु र धुलिखेलका औद्योगिक क्षेत्र, विराटनगर जुट मिल, उदयपुर सिमेन्ट, भृकुटी कागज कारखाना, र अन्य उद्योगहरूमा हजारौं जनालाई रोजगारी थियो।
आज ती तमाम उद्योगहरू व्यवस्थित गरेर अझ फैलाउन सकिन्थ्यो, तर भ्रष्टाचार, कमीशन र नीतिगत दलालीका कारण ती उद्योगहरू एकपछि अर्को गर्दै बन्द भएका छन ।आज ती ठाउँहरू घाँसले ढाकिएका छन्, अनि युवाहरू कतार, मलेसिया र दुबईका सडकमा सपनाको महल निर्माण गर्न श्रम बेच्न बाध्य छन। देशमा परिवर्तन त भयो तर त्यही परिवर्तन जनताको जीवनमा कहिल्यै अनुभूति गरिएन। संघीयता आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो तर भोक, गरिबी, बेरोजगारी, भ्रष्टाचार, नेताहरूको झूठो भाषण, ठगी र दलाली भने अझै पनि जहाँको त्यही छ। राजनीति आज पनि पदकै खेल बनेको छ। जनता तिनै भाषणले झुक्याइएका छन्।
नेताहरूले जनतालाई प्रयोग गर्छन्, चाकडी र चाप्लुसीले सत्ता लिन्छन्, अनि सच्चा र इमानदारहरू कुनामा कोचिन्छन्। यो देशमा असल मान्छे अगाडि आउने होइन, ‘जे पनि गर्न तयार’ हुनेहरूलाई मात्र अवसर मिल्ने हो। हिजो र आजको तुलनामा व्यवस्थाप्रति जनताको भरोसा घट्दै गएको छ। जब भोलिको सपना देखाउनेहरू आफैं भोलि बिगार्ने योजनामा लाग्छन्, तब यो देशका लाखौं नागरिकको मन कुँडिन्छ।
यो लेख कुनै विशेष दलविरुद्ध होइन, यो समग्र राजनीतिक चरित्रको चित्रण हो। मैले देखेको छु, भोगेको छु—देशको राजनीति कसरी सडेको छ भनेर। म जस्ता युवाहरूको आवाज हो यो—देशप्रेमले भरिएको तर पीडाले रेटिएको। जनताले धेरै सहिसके, अब परिवर्तन सोच र नेतृत्वमा हुनुपर्छ। परिवर्तन केवल कुर्सीको होइन, सोच र नीति नियमको हुनुपर्छ।
देशलाई समृद्ध बनाउने हो भने ‘राष्ट्र र जनता केन्द्रित सोच’ राख्नेहरूलाई अघि ल्याउनुपर्छ। जनताको आँशु पुछ्न सक्ने, युवाको भविष्य बनाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने योजना बनाउनेहरूलाई नेतृत्वमा ल्याउनुपर्छ। नत्र भने, यो राष्ट्रमा शासन फेरिँदै जाला, तर शासकको चरित्र फेरिन्न—र देश यस्तो नै रहिरहला, जहाँ सपना देख्नेहरू सपनासँगै बाँच्न बाध्य हुनेछन्।
लेखक: डि एस संघर्ष
ठेगान: सुनिलस्मृती गाउँपालिका -०६ रोल्पा