काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी महाधिवेशन सकेको झण्डै ९ महिनापछि पार्टीको संगठनात्मक संरचना करिव टुंग्गो लगाएको छ । केन्द्रीय समितिलाई पूर्णता, पोलिटब्यूरो र स्थायी समिति टुंग्गो लगाएको छ । पदाधिकारी अझै टुंग्याउन बाँकी छ । पदाधिकारी टुंग्याउन आज दिउँसो १ बजे स्थायी समिति बैठक बोलाइएको छ ।

बुधबार थप गर्नु पर्ने ६ केन्द्रीय सदस्य, पोलिटब्यूरो र स्थायी समिति सदस्य माओवादीले टुंग्गो लगाएको थियो । शुक्रवार पार्टीको २१ सदस्यीय पदाधिकारी बनाउने, जसमा ७ जना उपमहासचिव र ९ जना सचिव राखेर पदाधिकारी बनाउनेमा करिव माओवादीभित्र सहमति बनिसकेको छ ।

सम्भवत आजको स्थायी समिति बैठकले पदाधिकारी समेत टुग्गो लगाएर मात्र थप भएका ६ केन्द्रीय सदस्य, पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारीसम्मको नाम सार्वजनिक गर्ने माओवादी तयारी छ । तर पनि मेरोन्यूजले यस अगाडी गत बुधबार नै माओवादीको स्थायी समिति सदस्यहरु को को छानिए भन्ने नाम सार्वजनिक गरिसकेको थियो । यद्यपि ती नामहरू माओवादीले सार्वजनिक गरिसकेको छैन ।

माओवादीले ४१ सदस्यीय स्थायी समिति बनाएको छ । पहिलोपटक महिलालाई यथेष्ट स्थान दिँदै थपिएका स्थायी समितिमै ११ जना महिलालाई माओवादीले स्थान दिएको छ । यसअगाडि पम्फा भुसालमात्रै स्थायी समितिमा थिइन् ।

योपटक स्थायी समितिलाई समावेशी बनाउने भन्दै उसले ११ जना महिला, मुस्लिम, दलितको समेत प्रतिनिधित्व गराएको छ । यसरी गराइएको प्रतिनिधित्वपछि माओवादी केन्द्रको स्थायी समितिमा पाँच जोडी श्रीमान श्रीमती नै स्थायी समितिमा परेका छन् ।

कम्युनिष्ट पार्टीमा श्रीमान श्रीमती नै एकै कमिटिमा पर्ने नयाँ कुरा भने होइन । आलोचकहरुले यसलाई परिवारवादको आरोप पनि लगाउने गर्छन् । तर कम्युनिष्ट पार्टीहरुले आफ्नै परिवारका सवैजसो सदस्यलाई नै राजनीतिमा लाग्न उत्प्ररित गर्ने गरेको र उनीहरुले पनि राजनीतिमा महत्वपूर्ण योगदान र भूमिका निर्वाह गरेकोले जिम्मेवारी पाउनु स्वभाविक जस्तै देखिन्छ ।

माओवादीभित्र कतिपय श्रीमान श्रीमतीको जोडी नै राजनीतिमा लागेका थिए । युद्धमै उनीहरुले जनवादी विवाह गरेका थिए । विवाहपछि पनि उत्तिकै जिम्मेवारीमा रहेर राजनीतिमा नै सक्रिय थिए । जसकाकारण माओवादीभित्र धेरै यस्ता जोडी छन्, जो संसदमा पनि श्रीमान श्रीमती नै छन्, पार्टीका कमिटिमा पनि ।

यस्तै ५ जोडी माओवादीका नेताहरु अहिले स्थायी समितिमा पनि सँग सँगै परेका छन् । देव गुरुङ, वर्षमान पुन, लिलामणि पोखरेल, शक्ति बस्नेत, हितमान शाक्यको दम्पत्ति नैं स्थायी समितिमा समेटिएका छन् । देव गुरुङकी श्रीमती यशोदा सुवेदी गुरुङ, वर्षमान पुनकी श्रीमती ओनसरी घर्ती, लिलामणि पोखरेलकी श्रीमती शशी श्रेष्ठ, हितमान शाक्यकी श्रीमती अमृता थापा र शक्ति बस्नेतकी श्रीमती सत्या पहाडी स्थायी समितिमा परेका जोडी हुन् ।

माओवादी जनयुद्धको उदगमथलो रोपाका बर्षमान र ओनसरी दुवै राजनीतिमा सानै उमेरदेखि सक्रिय भएका थिए । २०५१ सालमा माओवादीले जनयुद्ध शुरुवात गर्दाको पहिलो फौजी आक्रमण रोल्पाको होलरी चौकीमा सहभागी हुने चार जना महिला मध्येकी एक थिइन् ओनसरी घर्ती । महिला छापामार, कमाण्डर हुँदै रोल्पामा प्रत्यक्ष चुनाव जितेकोसम्म ओनसरीको राजनीतिक जीवन छ । त्यसपछि सभामुख भएर पनि उनले काम गरिन् ।

माओवादी युद्दकालमै उनको र अनन्तको वीचमा विवाह भएको थियो । जीवननै राजनीतिमा लगाएकी उनी अहिले श्रीमानसँगै माओवादी केन्द्रको स्थायी समिति सदस्यमा परेकी हुन् । श्रीमान सँगै स्थायी समितिमै परेकी अर्काे नाम हो अहिलेको भूमि ब्यवस्था मन्त्री शशि श्रेष्ठ । श्रेष्ठको नेपालको वामपन्थी आन्दोलनमा आफ्नै खालको योगदान छ ।

पारिवारिक हिसाबले पनि उनी राजनीतिमै जोडिएकी छिन् । चर्चित वाम विश्लेषक श्याम श्रेष्ठकी बहिनी रहेकी उनी माओवादी नेता लीलामणि पोखरेलकी जीवनसंगिनी हुन् । २०३६ सालमा नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशन समूहबाट औपचारिक रूपमा पार्टीगत राजनीति सुरु गरेकी श्रेष्ठले २०३७ सालमा कम्युनिष्ट पार्टीको पूर्णकालीन सदस्यता पाएकी थिइन् । श्रेष्ठ काभ्रेको मंगलटारमा जन्मिएकी हुन् ।

२०३८ साल देखि २०४२ सालसम्म जेल जीवन भोगेकी उनले राजनीतिक आन्दोलनका क्रममा पटक–पटक भूमिगत जीवन र प्रहरी हिरासतको अनुभव भोगेकी छिन् । स्नातक तहसम्मको अध्ययन गरेकी श्रेष्ठले २०३४ सालदेखि विद्यार्थी राजनीतिमा सुरु गरेकी थिइन् । २०३८ सालमा पद्मकन्या क्याम्पस स्ववियु सभापतिमा निर्वाचित भएकी उनी २०४० सालमा महिला संघको केन्द्रीय अध्यक्ष समेत भएकी थिइन् ।

२०५५ सालमा संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य, २०५९ सालमा जनमोर्चाको सचिवालय सदस्य र २०६५ सालमा माओवादी केन्द्रीय सदस्य भएकी उनी २०७१ सालमा माओवादी पोलिटब्युरो र २०७२ मा सचिवालय सदस्य भएकी थिइन् । उनको श्रीमान लिलामणि पोखरेल पनि माओवादी पार्टीका चर्चित नेता नै हुन् ।

माओवादी स्थायी समितिमा पर्ने अर्काे जोडीको नाम हो यशोदा गुरुङ सुवेदी र देव गुरुङ । ०३५ साल देखि नै राजनीतिमा लागेकी सुवेदी अनेमसंघको केन्द्रीय सदस्य ०४३ मा बनेकी थिइन् । ०४५ मा विद्यार्थीको केन्द्रीय सदस्य समेत बनेकी उनी ०४६ मा पार्टीको मनाङ-लमुजुङ जिल्ला समिति सदस्य भएकी थिइन् । पछि उनी ९ महिना जेल पनि परिन् ।

जनयुद्ध थालनी भएपछि उनी पार्टीको एचक्यूको स्टाफको रूपमा पोखरामा खटिन् । गोरखामा उनको श्रीमान देव गुरुङ गिरफतारीमा परेपछि उनको कार्यक्षेत्र बदलियो। उनी महिला संघको केन्द्रीय महासचिव पनि बनिन् । जनयुद्धको बेलामै पर्वत इन्चार्ज तथा गण्डक क्षेत्रीय ब्युरो सदस्य बनेकी उनीसँग भक्तपुर जिल्लाको इन्चार्ज, नेवा राज्य समितिको सहइन्चार्जसम्म भएर काम गरेको अनुभव पनि छ । उनी जनयुद्धकालमै माओवादी केन्द्रीय समिति सदस्य भएकी थिइन् ।

श्रीमान शक्ति बस्नेतसँगै स्थायी समितिमा पर्ने अर्की नेतृ हुन् – सत्या पाहाडी । २०३४ असोजमा डोल्पाको लिकुमा जन्मिएकी सत्या परिवारका ७ सन्तानमध्ये कान्छी छोरी थिइन् । उनले २०४९ सालमा माओवादीको सदस्यता पाइन् । २०५२ मा विधार्थीको केन्द्रीय सदस्य बनेकी उनी त्यसै बेला देखि भूमिगत राजनीति शुरु गरिन् ।

२०५३ मा जाजरकोट जिल्ला कमिटि सदस्य बनिन् पार्टीको । त्यसपछि २०५५ मा जेल परिन् । तीन वर्ष जेल जीवन विताइन् । जेलबाटै प्रविणताप्रमणपत्र अध्ययन सकिन । पूर्व शान्ति मन्त्री उनको जनयुद्धकालमै शक्ति बस्नेतसँग जनवादी विवाह भएको थियो ।

माओवादीमा परिवारनै लागेर राजनीति गर्ने अर्काे जोडीको नाम हो – हितमान शाक्य र अमृता थापा । शाक्य अहिले माओवादी केन्द्रको बागमति प्रदेश इन्चार्ज पनि छन् । अमृता माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष छिन् । त्यस अगाडी उनी महिला संघ (क्रान्तिकारी)को केन्द्रीय महासचिव भएर काम गरेकी थिइन् ।

जनयुद्धकालमै माओवादी केन्द्रीय सदस्य भएकी थापा खरो र अध्ययनशील महिला नेतृमा पर्छिन् । उनले युद्धकालमै विभिन्न जिल्लाको जिल्ला इन्चार्ज भएर काम गरेको अनुभव पनि छ । प्रतिनिधीसभाको सांसद पनि हुन् । उनी पनि श्रीमानसँगै अहिले माओवादीको स्थायी समितिमा पर्ने नेतृमा पर्छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय