नेकपा एमालेको किल्ला मानिएको धनकुटामा नेपाली काँग्रेसले धावा बोलेको छ । ०७४ को निर्वाचनमा धनकुटा क्लिन स्वीप पारेको एमालेले अहिलेसम्म दुई वटा पालिका गुमाइसकेको छ । सात वटा पालिका भएको धनकुटामा ०७४ मा निल भएको काँग्रेस धनकुटामा उदाएको अवस्था छ ।
उसले दुई वटा पालिकाको जितेको छ भने दुईमा अग्रता बनाएको छ । एमालेले एउटामा जितेको छ भने एउटा मात्र अग्रता बनाएको छ । सहिदभूमि गाउँपलिकामा भने निर्वाचन हुन बाँकी छ । विगतमा राम्रो अवस्थामा रहेको राप्रपाको पनि यस पटक बिजोग देखिएको छ । सूर्यबहादुर थापाका छोरा सुनिल थापाले काँग्रेस छिरेपछि धनकुटामा राप्रपा निकै कमजोर बनेको छ ।
यसपटक काँग्रेसले साँगुरीगढी गाउँपालिका पनि जितेको छ । काँग्रेसका जितेन्द्र राईले ५ हजार ३९९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार जंग याखाले ४ सय ८२८ मत पाएका थिए । एमालेले चौविसे गाउँपालिका भने जितेको छ । एमाले उम्मेदवार राज कुमार लिम्बुले ५०३८ मत ल्याएर जित हात परेका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र दल बहादुर मगरले ३९९१ मत मात्र पाएका छन् ।










