काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डले जनताले संघर्ष गरेर स्थापित गरेका परिवर्तनका मुद्दा कार्यान्वयन हुन नदिने अनेकन खालका षड्यन्त्र विगतमा पनि भएको र अहिले पनि त्यस्ता प्रवृत्ति कायम रहेकाले प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार एमाले नुवाकोटका नेता माधव पाण्डेलगायतलाई माओवादी प्रवेश गराउँदै प्रचण्डले यसअघि पनि संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध कडा संघर्ष गर्नु आवश्यक रहेको बताए ।
प्रचण्डले देशको समृद्धि र आर्थिक विकासको नेतृत्वकर्ताका रूपमा माओवादी नै जनताको बीचमा स्थापित भएको बताए । मधेसी, थारु, आदिवासी, जनजातीलगायत सबै समुदायको पहिचान र अधिकार माओवादीकै कारण स्थापित भएको तथ्य पेश गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा माओवादीलाई मत दिने आधार समेत जनतामा स्पष्ट रहेको बताए ।
यस्तै, माओवादीको पूर्व स्थायी समितिका उपलब्ध सदस्य र प्रदेश इन्चार्जको अनौपचारिक बैठकमा समसामयिक राजनीतिक परिस्थिति र स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेलसम्बन्धी विषयमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले पछिल्ला राजनीतिक विषयमा बैठकलाई जानकारी गराएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।










