काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाले ‘प्रचण्ड’ले ११२औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च)का अवसरमा शुभकामना दिएका छन् ।

सम्पूर्ण मुक्तिकामी महिला दिदीबहिनीहरुका नाममा सम्बोधन गरिएको शुभकामना सन्देशमा प्रचण्डले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायू सहित उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

आजको दिन विश्वभरका महिला दिदीबहिनीहरुको मात्र नभई सिंगो मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन भएको प्रचण्डले स्मरण गरेका छन् । अध्यक्ष प्रचण्डले आजको दिनलाई महिलाहरुको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक विकासका लागि आवाज बुलन्द गरिएको संघर्षको दिन भनेका छन् ।

मानव समुदायका सबै सामाजिक र राजनैतिक परिवर्तन र संघर्षमा महिला समुदायको सक्रिय सहभागिता र भूमिकाले नै विश्व सभ्यता यहाँसम्म आइपुगेको अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । ‘नेपाली सामाजिक र राजनैतिक रुपान्तरणका लागि नेपाली महिलाहरुले युगौंदेखि त्याग, तपस्या र बलिदानका बेग्लै कीर्तिमान कायम गरेका छन् । महिला दिदीबहिनीहरुको बलिदानीपूर्ण संघर्षका कारण पछिल्लो चरणमा महान् जनयुद्धमा बनेका साहास र बलिदानी कीर्तिमान नेपालमा मात्र नभई विश्वभर चर्चा र प्रशंसाका विषय बनेका छन्’, अध्यक्ष प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ ।

२१औं शताब्दीमा पनि महिलामाथि हुने सबैप्रकारका हिंसा र उत्पीडनलाई निर्मूल गरी समानता र न्यायका लागि संवैधानिक, कानूनी र व्यवहारिकरुपमा प्राप्त अधिकारको पूर्ण कार्यान्वयन तथा थप अधिकारका लागि संघर्षरत रहन अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमार्फत अपील समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय