काठमाडौं – राष्ट्रियसभाको रिक्त सदस्यका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका एकजना बाहेक सबै उम्मेदवारले जितेका छन्। निर्वाचित सबैको कार्यकाल ६ वर्षको हुनेछ। सातै प्रदेशको चुनावमा प्रदेश नम्बर १ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हेमराज राईबाहेक सबैले जित हासिल गरेका छन् । त्यहाँ जनता समाजवादी पार्टीबाट अल्पसंख्यक कोटामा उम्मेदवार बनेका राईलाई प्रमुख प्रतिपक्षी एमालेबाट उम्मेदवार बनेका सोनाम ग्याल्जेन शेर्पाले जितेका हुन्।
अन्य १८ पदमा भने गठबन्धनतर्फका उम्मेदवार निर्वाचित भएका छन्। यससँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभाको सात सिट गुमाएको छ। फागुन २० गतेबाट रिक्त हुन लागेका १९ सिटका लागि बुधबार निर्वाचन भएको हो। परिणामअनुसार प्रदेश नम्बर १ मा खुलातर्फ एक पदमा सत्ता गठबन्धन र एमाले उम्मेदवारको बराबरी मत परेको थियो। गोलाप्रथाबाट भएको अन्तिम निर्णयमा गठबन्धनका उम्मेदवार गोपाल बस्नेत निर्वाचित भएका छन्।
त्यसैगरी प्रदेश १ बाट गठबन्धनकी उम्मेदवार जयन्ती राई निर्वाचित भएकी छन्। उनी नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी थिइन्।
त्यस्तै मधेश प्रदेशमा सत्ता गठबन्धनका मोहम्मद खलिद सिद्दिकी र उर्मिला अर्याल निर्वाचित भएका छन्। वाग्मतीबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना विजयी भएका छन्।
गण्डकीबाट पनि गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। विजयी हुनेहरूमा कांग्रेसका कमला पन्त, माओवादी केन्द्रका सुरेश आले मगर र भुवन सुनार छन्। लुम्बिनी प्रदेशमा तीन पदका लागि भएको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका तुलप्रसाद विश्वकर्मा र कांग्रेसबाट उम्मेदवार बनेका युवराज शर्मा निर्वाचित भएका छन्।
कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारहरू दुर्गा गुरूङ, नरबहादुर बिष्ट र उदय बोहरा निर्वाचित भएका छन्।सुदूरपश्चिम प्रदेशमा कांग्रेसका नारायणदत्त मिश्र, एकीकृत समाजवादीकी मदनकुमारी शाह र माओवादी केन्द्रका जगत पार्की विजयी भएका छन्।
रिक्त सदस्य पदका लागि सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र
अन्य गरी जम्मा १९ पदका लागि चुनाव भएको हो। त्यसमध्ये महिला ७ जना, दलित ३ जना, अपांगता भएका व्यक्तिबाट २ जना र अन्य ७ जना निर्वाचित भएका छन्।










